उद्धारमा ढिलाइप्रति हर्क साम्पाङको असन्तुष्टि- ‘जनशक्ति, उपकरण र समन्वय तत्काल बढाउनुपर्छ’
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्य अझ प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत साम्पाङले खोजी तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई आवश्यक औजार तथा उपकरणसहित बाढी प्रभावित क्षेत्रमा परिचालन गर्न माग गरेका हुन्।
बाढी प्रभावित क्षेत्रमा बेल्चासमेत पर्याप्त नभएको दाबी गर्दै उनले आफूहरूले बोकेर लगेको बेल्चाले अघिल्लो दिनको खोजी कार्यमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
उनले सरकारको उद्धार व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै आफ्नो सामाजिक सञ्जालमा लेखिएका सुझावलाई ध्यान दिन आग्रह गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् –
खोजि र उद्दार कार्य खास प्रभावकारी भाको छैन ! अझै सुधार गर्नु पर्छ ! थोरैमा १५ हजार सुरक्षाकर्मीलाई परिचालन गरियोस् ! औजार र उपकरण सहित बाढी ग्रस्त क्षेत्रमा पठाइयोस् ! बेल्चा समेत नभएको अवस्था छ ! हिजोको खोजि कार्यमा हाम्ले बोकेको बेल्चाले ठुलो काम गर्यो ! सरकार पक्षले मेरो फेस्बुकको वाल पढ्नै पर्छ यदी सबल र सहज तरिकाले काम गर्ने हो भने अन्यथा भद्रगोल छ स्थिति ! हिजो पनि उपकरण प्रयोग गर्ने अनुमति दिइएन ! जीवनको खोजि छिटो र प्रभावकारी हुन सक्थ्यो !
