जेन्जी आन्दोलनलाई अपमान नगर्न गृहमन्त्री गुरुङको चेतावनी
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेन्जी आन्दोलनलाई अपमान गर्ने प्रयास नगर्न पुराना राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन्।
जेन्जी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको इतिहास बदल्न खोज्नु तीन करोड नेपाली जनताको अपमान हुने बताएका हुन्।
गुरुङले जेन्जी आन्दोलनलाई पुराना दलका केही नेताले विभिन्न ढंगले व्याख्या गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि जनाए। आन्दोलनको इतिहास अब स्थापित भइसकेकाले त्यसलाई बदल्ने प्रयास नगर्न उनले आग्रह गरे।
‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ। त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहास फेर्ने कोसिस पनि नगर्नुस्,’ उनले भने।
जेन्जी आन्दोलनको इतिहासलाई तीन करोड नेपाली जनताले अनुमोदन गरिसकेको उनको दाबी थियो। आन्दोलनको अपमान गर्नु जनताको निर्णयकै अपमान हुने भन्दै उनले पुरानो सोच त्याग्नसमेत आग्रह गरे।
‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ। अझै पनि समय छ, सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन,’ गुरुङले भने।
उनले भदौ २३ गतेको आन्दोलन सत्ता प्राप्तिका लागि नभएको पनि स्पष्ट पारे। जेन्जी पुस्तालाई सत्ताको लोभ र शक्तिको घमण्ड नरहेको उनको भनाइ थियो।
गुरुङले सुशासनको पक्षमा सडकमा उभिएका युवामाथि सरकारले गोली चलाएको आरोपसमेत लगाए। जेन्जी आन्दोलनका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले देशमा सुशासन स्थापित गर्न आफूहरूलाई अगाडि सारेको बताए।
आफ्नो जिम्मेवारीप्रति आफू अत्यन्तै सचेत रहेको बताउँदै गुरुङले सानो कमजोरीले पनि समस्या निम्त्याउन सक्ने भन्दै काममा निरन्तर दबाब महसुस हुने गरेको सुनाए।
‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्ने लाग्छ। म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु। म मात्र होइन, हाम्रो सरकारका सबै मन्त्रीले काम गरिरहनुभएको छ,’ उनले भने।
