`

जापानको आर्थिक वृद्धि प्रारम्भिक अनुमानभन्दा माथि, ब्याजदर वृद्धिको सम्भावना बलियो

Nepal One HD २३ भदौ २०८३ १९:२४
विश्व

काठमाडाैँ । जापानको अर्थतन्त्र चालु वर्षको दोस्रो त्रैमासिकमा प्रारम्भिक अनुमानभन्दा तीव्र गतिले विस्तार भएको संशोधित सरकारी तथ्यांकले देखाएको छ । यो तथ्यांक जापानको केन्द्रीय बैंकले आगामी साता ब्याजदर बढाउने अपेक्षाबीच सार्वजनिक भएको हो।

जापानको मन्त्रिपरिषद् कार्यालयका अनुसार अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा विश्वको चौथो ठूलो अर्थतन्त्र ०.४ प्रतिशतले विस्तार भएको छ । यसअघि सार्वजनिक गरिएको प्रारम्भिक तथ्यांकमा आर्थिक वृद्धि ०.३ प्रतिशत रहने अनुमान गरिएको थियो।

विश्लेषकहरूले प्रारम्भिक तथ्यांकले मुद्रास्फीति तीव्र रूपमा बढिरहेका बेला तथा कमजोर येनका कारण दबाबमा रहेको जापानको केन्द्रीय बैंकलाई ब्याजदर बढाउन केही कठिनाइ पार्न सक्ने बताएका थिए।

संशोधित तथ्यांकअनुसार निजी उपभोग र कम्पनीहरूको लगानी कमजोर नै रहे पनि प्रारम्भिक अनुमानभन्दा केही राम्रो देखिएको छ । अर्कोतर्फ, आयात प्रारम्भिक अनुमानभन्दा कम रहेकाले कुल गार्हस्थ्य उत्पादनको संशोधित वृद्धिदर माथि जान सहयोग पुगेको हो।

जापानको केन्द्रीय बैंकले आगामी साता मुख्य ब्याजदर बढाउने अपेक्षा गरिएको छ । यसैबीच प्रधानमन्त्री साने ताकाइचीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको समाचारहरू सार्वजनिक भएका छन् । यद्यपि ठूलो परिवर्तनको अपेक्षा गरिएको छैन।

उच्च तेल आयात लागत तथा प्रधानमन्त्री ताकाइचीको खर्चसम्बन्धी योजनालाई लिएर देखिएको चिन्ताका कारण जापानी येनमाथि दबाब परेको छ।

तर ब्याजदर वृद्धिको सम्भावनाबारे चर्चा बढेसँगै यस महिनामा येन केही बलियो भएको छ र यो वर्षकै उच्च स्तरतर्फ अघि बढिरहेको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जापानको केन्द्रीय बैंकका गभर्नर काजुओ उएदासँगको कुराकानीमा जापानले बजार तथा मौद्रिक क्षेत्रमा निर्णायक कदम चाल्नुपर्ने पक्षमा आफू रहेको बताएपछि पनि येनलाई थप समर्थन पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *