भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा
नयाँदिल्ली। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत-श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यले श्रीलङ्काको तीनदिने औपचारिक भ्रमण सुरु गर्नुभएको छ ।
उहाँले श्रीलङ्काली नेतृत्वसँग द्विपक्षीय विषयमा छलफल गर्नुका साथै कोलम्बोस्थित भारतीय समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ ।
सिंहले श्रीलङ्का भारतको ‘छिमेकी पहिले’ नीति र ‘महासागर’ पहलअन्तर्गत महत्वपूर्ण साझेदार रहेको बताउनुभएको छ । भारतीय रक्षा मन्त्रालयले भ्रमणले दीर्घकालीन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पुग्ने जनाएको छ ।
सन् २०२५ मा श्रीलङ्कामा आएको चक्रवात दिटवाहपछिको सङ्कटमा भारतले सहयोग गरेको थियो । भारतले सडक, रेल, पुल, आवास, स्वास्थ्य, शिक्षा, कृषि र विपद व्यवस्थापनका लागि ४५ करोड अमेरिकी डलरको पुनर्निर्माण प्याकेजसमेत विस्तार गरेको छ ।
भ्रमण यसअघिका उच्चस्तरीय रक्षा आदानप्रदानको निरन्तरता हो । गत अगस्टमा श्रीलङ्काली नौसेना कमान्डर भाइस एडमिरल डामियन फर्नान्डोले भारत भ्रमण गरी भारतीय रक्षा तथा नौसैनिक अधिकारीसँग रक्षा सहकार्य, संयुक्त तालिम र समुद्री सुरक्षाबारे छलफल गर्नुभएको थियो । दुवै देशले हिन्द महासागर क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरता कायम गर्न रक्षा तथा समुद्री सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका छन् ।
