प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षति र त्यसपछिको उद्धार तथा पुनस्र्थापनाको कामलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शाहले बिहीबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठकमा पछिल्लो समसामयिक अवस्थासँगै बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज, उद्धार, उपचार तथा राहतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम जारी छ भने विस्थापित नागरिकको राहत र पुनस्र्थापनाको चुनौती पनि सरकारसामु छ ।
यही परिस्थितिमा राहत र पुनस्र्थापनाको कामलाई थप प्रभावकारी बनाउने तथा आवश्यक निर्णय लिन प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको सचिवालयको भनाइ छ ।
सचिवालयका अनुसार बैठकमा बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि पुनस्र्थापनासम्मका विषयमा आवश्यक निर्णय लिइनेछ ।
बाढीले सडक, पुललगायतका पूर्वाधारमा समेत क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा आवतजावत र अत्यावश्यक सामग्री पुर्याउने काम चुनौतीपूर्ण बनेको छ ।
सरकारले उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावितको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।
