`

पदभार ग्रहण गर्दै मन्त्री साहले भने- विगतको समीक्षा गरेर नयाँ कार्यक्रम अघि बढाउँछौँ

Nepal One HD २५ भदौ २०८३ २०:४३
बिशेष

काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन् ।

बिहीवार शपथ ग्रहणलगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले साहलाई बिहीवार नै उद्योग मन्त्री नियुक्त गरेका थिए ।

पदभार ग्रहणलगत्तै मन्त्री साहले निवर्तमानमन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर थप योजना तथा कार्यक्रम ल्याउने बताए ।

‘कुनै पनि काम गर्नुअघि विगतमा के–के भइसकेका छन्, त्यसको जानकारी लिएर अघि बढ्दा काम गर्न सहज हुन्छ,’ मन्त्री साहले भने, ‘त्यसैले मन्त्रालयका सचिवज्यूलाई पूर्वमन्त्रीज्यूसँग भेटघाटको वातावरण मिलाउन आग्रह गरेको छु। उहाँसँग दुई–चार घण्टा बसेर घनीभूत छलफल गरेपछि मात्र हामी नयाँ कार्यक्रमहरू अगाडि बढाउनेछौँ।’

उनले बजारमा भएको ग्यासको अभावको समस्या समाधान गर्न पनि मन्त्रालयका कर्मचारी र निवर्तमान मन्त्री यादवसँग छलफल गरेपछि मात्र काम थाल्ने उनको भनाइ छ ।

अहिले मन्त्री यादवले मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *