३ वर्षीया बालिका हत्याका मुख्य आरोपीसहित १० जना साधारण तारेखमा रिहा
काठमाडौं । बारामा ३ वर्षीय बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या अभियोगमा पक्राउ परेका मुख्य प्रतिवादी प्रोगेश चौधरी (पुरग्रेश चौधरी) लाई जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । घटनामा जोडिएका अन्य ९ जना प्रतिवादीलाई भने साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको छ ।
बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
अदालतले प्रोगेशलाई कसुरमा इन्कार गर्दै बयान दिए पनि घटनास्थल भनिएको घरमा बिजुलीको बत्ती बाल्न गएको स्वीकार गरेको आधारमा उनीमाथि तत्काल प्राप्त प्रमाणका आधारमा संलग्नता नरहेको भन्न सकिने अवस्था नदेखिएको ठहर गरेको छ । त्यसैका आधारमा २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत माग गरिएको हो ।
घटनास्थलबाट बालिकाको शव बरामद हुनुका साथै घरधनीकी बुहारी टीका कुमारी शाही तथा अनुसन्धानका क्रममा बुझिएका व्यक्तिहरूको भनाइसमेत अदालतले आधार बनाएको छ । प्रमाण ऐन, २०३१ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का सम्बन्धित प्रावधानअनुसार धरौटी माग गरिएको अदालतको आदेशमा उल्लेख छ ।
इन्द्रजीत चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नबिन विक, टेकबहादुर थापामगर, शेष हसमुदिन आलम, सविता चौधरी र बिन्दुदेवी चौधरीलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
यी प्रतिवादीविरुद्ध प्रत्यक्ष प्रमाण नदेखिएको तथा उनीहरूले आरोप अस्वीकार गरेको अदालतको ठहर छ । अनुसन्धानका क्रममा बुझिएका साक्षीहरूको कागजबाट मुख्य कसुरदारलाई साधन–स्रोत उपलब्ध गराएको, कसुरमा सहयोग गरेको वा प्रमाण लोप गरेको पुष्टि हुने पर्याप्त आधार मिसिलमा नदेखिएको अदालतले जनाएको छ ।
सरकारका तर्फबाट पेस भएको अभियोगदाबी पुष्टि गर्ने पर्याप्त प्रमाण नदेखिएकाले उनीहरूलाई थुना वा धरौटीमा राख्न आवश्यक नरहेको अदालतको निष्कर्ष छ ।
प्रहरीबाटै भिडियो सार्वजनिक भएको भनिएका नाबालक आरोपी नरवस्ती (क) को हकमा भने आदेशमा धरौटी वा साधारण तारेखबारे स्पष्ट निर्णय उल्लेख गरिएको छैन । चार पृष्ठको आदेशमा उनलाई सुधारगृहमा पठाउने वा थुनामा राख्ने सम्बन्धमा समेत स्पष्ट निर्देशन नदेखिएको छ ।
प्रतिवादीहरूलाई थुना वा धरौटीमा नराखी तारेखमा छाड्नुका मुख्य कारणहरू:
-
जाहेरी दरखास्त र मौकाको कागजबाट कसूरदार भनी मान्न मिल्ने अवस्था नभएको: अन्य प्रतिवादीहरू इन्द्रजित चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नविन वि.क., टेक बहादुर थापा मगर, शेष हस्मुदिन आलम, सविता चौधरी र बिन्दु चौधरीले आरोपित कसूरमा इन्कार रही बयान दिएको र मौकामा बुझिएका बुझ-बुझारथ व्यक्तिहरूको कागजबाट उनीहरू नै आरोपित कसूरका मुख्य कसूरदार हुन् भनी अहिले नै मान्न मिल्ने पर्याप्त आधार नदेखिएको।
-
मुख्य कसूरदारलाई सहयोग पुर्याएको वा प्रमाण लोप गरेको तथ्य नदेखिएको: ती प्रतिवादीहरूले मुख्य कसूरदारलाई के कति स्रोत साधन उपलब्ध गराएर कसूर घटाउन सहयोग पुर्याएका हुन् वा कसरी प्रमाण लोप गरेका हुन् भन्ने-बारे कुनै पनि तथ्य र प्रमाण मिसिलमा नरहेको।
-
अभियोग दावी पुष्टि गर्ने प्रमाणको अभाव: दाबी गरिएको वारदात सम्बन्धमा दायर भएको अन्य मुद्दासँग सम्बन्धित मिसिलमा रहेका तथ्य तथा प्रमाणहरूले समेत ती प्रतिवादीहरू उपरवादी नेपाल सरकारले लिएको अभियोग दावीलाई पुष्टि गर्न सक्ने खालको प्रमाण मिसिलमा सामेल नरहेको।
के थियो घटना ?
जितपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगर टोलकी ३ वर्षीय बालिका (परिवर्तित नाम ‘गमला (क)’) गत साउन ३१ गते बिहान घरबाट निस्किएपछि हराएकी थिइन् । खोजीका क्रममा भोलिपल्ट भदौ १ गते छिमेकी वीरबहादुर रोक्काको खाली घरभित्र उनको शव फेला परेको थियो ।
बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको, जबरजस्ती करणी गरेको र हत्या गरेको आरोपमा प्रतिवादीहरूमाथि मुद्दा दायर भएको थियो ।
घटनापछि बारा र काठमाडौंमा समेत विरोध प्रदर्शन भएको थियो । घटनालाई लिएर गृहमन्त्री सुधन गुरुङले पीडितका अभिभावकलाई सिंहदरबार बोलाएर तीनबुँदे सहमति गरेका थिए ।
अदालतले फरार रहेका अन्य प्रतिवादीका हकमा कानुनबमोजिम म्याद जारी गरी नियमानुसार पेस गर्नसमेत आदेश दिएको छ ।
यो हेर्नुहोस् :
