अस्करका लागि नेपालको प्रतिनिधित्व गर्दै ‘तिनीहरू’
काठमाडौं । सन् २०२७ मा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स (अस्कर) को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ले गर्ने भएको छ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले प्रतिस्पर्धाका लागि प्राप्त दुई नेपाली चलचित्रमध्ये ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’लाई अस्करमा नेपालको आधिकारिक प्रतिनिधिका रूपमा सिफारिस गरेको हो।
समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले आइतबार जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ले आवेदन दिएका थिए।
समितिले दुवै चलचित्रको प्राविधिक गुणस्तर, कथावस्तुको प्रस्तुति, पात्रको भावनात्मक पक्ष तथा चलचित्रको कलात्मक शिल्पको अध्ययन गरेको थियो। एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले तोकेको मापदण्डलाई आधार बनाएर गरिएको मूल्यांकनपछि ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट भएको समितिले जनाएको छ।
समितिमा अध्यक्ष शर्मासहित लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, जीवन कुमार पराजुली र बिकेश सुवेदी सदस्य रहेका छन्।
छनोटसँगै ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालबाट अस्करको प्रतिस्पर्धामा सहभागिता जनाउनेछ।
