सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षकको उत्तरदायित्व सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन मन्त्रालयले हालसम्म सञ्चालन गरेका कार्यक्रमबारे जानकारी दिँदै मन्त्री पोखरेलले विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) र राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्घीय तहबाट जाजरकोट, रुकुमपश्चिम र बझाङमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण, चेपाङ समुदायका विद्यार्थीका लागि आवासीय विद्यालय निर्माण तथा दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयको भौतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
त्यस्तै, कमजोर भएका स्थानीय तहमा प्राविधिक सहायता, शिक्षक तथा विद्यार्थी आदानप्रदान कार्यक्रम, टेलिभिजनमार्फत शिक्षण–सिकाइ कार्यक्रम प्रसारण, पाठ्यपुस्तक तथा पाठ्यक्रमको विकास र परिमार्जन तथा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण पनि सञ्चालन भइरहेको मन्त्री पोखरेलले बताउनुभयो ।
सङ्घीय सशर्त अनुदानअन्तर्गत प्रदेशमार्फत शिक्षकको पेसागत विकास तालिम, बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि पूर्वाधारयुक्त आवासीय विद्यालय तथा सङ्घ–प्रदेश साझेदारीमा ‘हामी बनाउँछौँ हाम्रो विद्यालय’ कार्यक्रम सञ्चालनमा रहेको छ ।
स्थानीय तहमार्फत भने दिवा खाजा, विशेष शिक्षाका लागि आवासीय विद्यालय, आधारभूत तथा माध्यमिक तहमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका लागि शिक्षण सहयोग अनुदान, आधारभूत सिकाइ प्रवर्द्धन कार्यक्रम तथा प्रतिविद्यार्थी लागतका आधारमा शिक्षण–सिकाइ व्यवस्थापन अनुदान प्रदान भइरहेको मन्त्री पोखरेलले बताउनुभयो ।
