पदकको आशा बोकेका पाँच नेपाली खेलाडी रित्तै फर्किए
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका पदकका आशा गरिएका पाँच खेलाडी आइतबार पदकविहीन भएका छन्।
कराँतेका एरिका गुरुङ, राकेश मानन्धर, मीनबहादुर तामाङ र सानुमाया थिङ तथा उसूका विजय सिंजालीले पदकका लागि भएको प्रतिस्पर्धामा सफलता हात पार्न सकेनन्।
महिला ६८ केजीमाथिको कुमितेमा एरिका गुरुङ सेमिफाइनलसम्म पुगेकी थिइन्। तर सेमिफाइनलमा कजाकस्तानकी बेरुल्टसेभा साफ्यासँग २–१ ले पराजित भइन्।
एरिकाले सुरुवातमा १–० को अग्रता लिएकी थिइन्। तर खेल सकिन दुई सेकेन्ड बाँकी रहँदा अंक गुमाउँदा फाइनल पुग्ने अवसर गुम्यो।
कांस्यका लागि भएको खेलमा पनि उनी साउदी अरबकी डिना अहमदसँग ८–७ ले पराजित भइन्।
यसअघि क्वार्टरफाइनलमा एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ ले हराएकी थिइन्।
पुरुष ५५ केजीमुनिको कुमितेमा राकेश मानन्धरले पनि कांस्य जित्न सकेनन्।
उनी कांस्य पदकको प्रतिस्पर्धामा मलेसियाका कालियाना सुन्द्रामसँग ९–१ ले पराजित भए।
राकेशले क्वार्टरफाइनलमा थाइल्यान्डका इन्ग्लोय नाथक्रितलाई ९–० ले हराएका थिए। सेमिफाइनलमा भने उज्बेकिस्तानका खालिमोभसँग ७–० ले रोकिए।
पुरुष ६० केजीमुनिको कुमितेमा मीनबहादुर तामाङको यात्रा पनि कांस्यमै आएर रोकियो।
उनी कांस्यका लागि भएको खेलमा साउदी अरबका अल्बाशेर साउद अब्दुलाजिजसँग २–० ले पराजित भए।
मीनबहादुरले प्री–क्वार्टरफाइनलमा हङकङका हिम चाउलाई ४–१ र क्वार्टरफाइनलमा काजकस्तानका मिर्जाजोदा मोहम्मदलाई २–० ले हराएका थिए। सेमिफाइनलमा भने कुवेतका साबन अब्दुल्लाहसँग १०–० ले पराजित भए।
महिला व्यक्तिगत कातामा सानुमाया थिङ अन्तिम १६ मै रोकिइन्। टोयोहाशी जिम्नेसियममा भएको खेलमा उनी दक्षिण कोरियाकी ह्युन चोईसँग ५–० ले पराजित भइन्।
उसूको पुरुष छान छ्वानमा विजय सिंजाली पनि पहिलो चरणबाटै बाहिरिए। २१ खेलाडी सहभागी स्पर्धामा उनी ९.१४६ अंकसहित १९औँ स्थानमा रहे।
यससँगै आइतबार नेपालका लागि पदकको आशा गरिएका कराँते र उसूका खेलाडीको चुनौती सकिएको छ।
नेपालले यसपटक एसियाली खेलकुदमा २१ खेलमा १३५ खेलाडी सहभागी गराएको छ।
आइची–नागोया एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुँदैछ।
