जापानमा आजदेखि २०औँ एसियन गेम्स, नेपालबाट १३५ खेलाडी सहभागी
काठमाडौं । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ। स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुनेछ।
औपचारिक उद्घाटनअघि नै केही खेलका प्रतिस्पर्धा भने सुरु भइसकेका छन्। जापानको एआइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकामा समेत विभिन्न खेलका प्रतियोगिता सञ्चालन भइरहेका छन्।
जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो। यसअघि जापानले सन् १९५८ र १९९४ मा एसियन गेम्स आयोजना गरेको थियो। ३२ वर्षपछि जापानमा फर्किएको एसियन गेम्समा ४३ खेलका ७१ विधामा ४६९ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुँदैछन्। यस संस्करणमा मिक्स्ड मार्सल आर्ट्स, प्याडेल, सर्फिङ, भर्चुअल तेक्वान्दो र टेकबललाई नयाँ खेलका रूपमा समावेश गरिएको छ। यस्तै, ई–स्पोर्ट्स र ब्रेकिङले पनि प्रतियोगितामा स्थान पाएका छन्।
प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियल टोलीलाई होटल र क्रुजमा राखिएको छ।
नेपालबाट १३५ खेलाडी
२०औँ एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी भएका छन्। सहभागी खेलाडीमा ५७ महिला र ७८ पुरुष छन्। यस्तै, नेपालबाट २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिक पनि सहभागी हुँदैछन्।
नेपालबाट आर्चरीमा २, एथलेटिक्समा ६, ब्याडमिन्टनमा ४, बक्सिङमा ७, क्रिकेटमा १५, साइक्लिङमा २, गल्फमा ४, जुडोमा ६, कबड्डीमा २४, करातेमा ८, र्याफ्टिङ एन्ड क्यानोइङमा २, स्केट एन्ड स्केट बोर्डिङमा २, सफ्ट टेनिसमा ४, स्क्वासमा २, पौडीमा ५, टेबलटेनिसमा ६, तेक्वान्दोमा ३, टेनिसमा ५, भलिबलमा १२, कुस्तीमा ६ र उसुमा १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले विभिन्न खेलमा प्रतिस्पर्धा गर्दै एसियन गेम्समा आफ्नो उपस्थिति जनाउँदैछ। प्रतियोगिताको औपचारिक उद्घाटनसँगै बाँकी खेलका प्रतिस्पर्धा पनि तीव्र रूपमा अघि बढ्नेछन्।
