नेपाललाई ‘कुबाटो’मा धकेल्न विभिन्न शक्तिहरू सक्रिय छन् – ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई ‘कुबाटो’मा धकेल्न विभिन्न शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन्।
संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा आयोजित कार्यक्रममा ओलीले यस्तो आरोप लगाएका हुन्।
‘केही नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्,’ ओलीले भने, ‘देखिएरै गरेका छन्। आश्चर्य लाग्ने तरिकाले गरेका छन्।’
ओलीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमाथि पनि निर्वाचन प्रभावित पार्न खोजेको आरोप लगाए।
उनका अनुसार २१ फागुनमा सम्पन्न निर्वाचनअघि मौन अवधिमा बीबीसीले नेपालबारे ‘झुट कुरा’ सम्प्रेषण गरेको थियो।
‘हामीले देखेका छौं। मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर, अल्मल्याएर, गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस गर्यो,’ ओलीले भने, ‘यो भन्न अप्ठ्यारो मान्न पर्दैन।’
ओलीले गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलनलाई पनि ‘षडयन्त्रपूर्ण उपद्रव’को संज्ञा दिए।
उनका अनुसार संविधान र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन त्यस्तो गतिविधि आयोजना गरिएको थियो।
‘संविधान भनेको देशको मूल कानुन हो। त्यसअनुसार चल्ने लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीलाई तोड्नका लागि गत वर्ष भदौ २३–२४ को षडयन्त्रपूर्ण उपद्रवको आयोजना गरियो,’ ओलीले भने।
ओलीले उक्त आन्दोलनमा को-को संलग्न थिए भन्ने विषय विस्तारै खुल्दै गएको दाबीसमेत गरे।
‘को-को संलग्न थिए, के-के संलग्न थिए, त्यसबारे खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्,’ उनले भने, ‘अहिले मैले धेरै केही भनिरहनु पर्दैन।’
ओलीले संविधान जारी भएयता मुलुकले अनेक चुनौती सामना गरेको बताए।
उनका अनुसार लोकतन्त्र सञ्चालन, संविधानको रक्षा र कार्यान्वयनका क्रममा निरन्तर चुनौती सामना गर्नुपरेको थियो।
‘यसबीचका समय सहज रहेनन्। अप्ठ्याराहरू रहे, उतारचढावहरू रहे,’ ओलीले भने, ‘ठूला चुनौतीहरूको हामीले सामना गर्यौं। निरन्तरका चुनौती र आक्रमणहरूको सामना गर्यौं। र, संविधानको रक्षा र कार्यान्वयन गर्दै गयौं।’
