`

श्रीलङ्काका कप्तान असलङ्काले नेपाल प्रिमियर लिग खेल्ने

Nepal One HD १ असोज २०८३ २१:३७
खेलकुद

काठमाडौँ। श्रीलङ्काको टी–२० क्रिकेट टोलीका कप्तान चरिथ असलङ्काले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत असलङ्कालाई आगामी ‘सिजन’ का लागि विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो । २९ वर्षीय असलङ्काले श्रीलङ्काका लागि ७७ टी–२० अन्तरराष्ट्रिय खेलमा एक हजार ४६६ रन बनाएका छन् । बलिङतर्फ उनले सात विकेट लिएका छन् ।

फ्रेन्चाइज क्रिकेटमा पनि उनले अनुभव हासिल गरिसकेका छन् । असलङ्काले हालसम्म १८५ टी–२० खेल खेल्दा तीन हजार ७१५ रन बनाउनाका साथै ३७ विकेट लिएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र इन्टरनेसनल लिग टी–२० लगायत चर्चित फ्रेन्चाइज लिगमा सहभागिता जनाइसकेका छन् ।

अब असलङ्का एनपिएलमा पनि देखिने छन् । एनपिएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *