`

बसन्तपुरमा इन्द्रजात्राको रौनक, रथयात्राको तयारी

Nepal One HD ४ असोज २०८३ १७:०८
समाचार

काठमाडौं। काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको रौनक बसन्तपुर क्षेत्रमा देखिन थालेको छ।

काठमाडौंको हनुमानढोका दरबार क्षेत्रलाई मुख्य केन्द्र बनाएर मनाइने इन्द्रजात्रा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाउने गरिन्छ। वर्षा तथा सहकालका देवता इन्द्रको पूजा आराधनासँग जोडिएको यस जात्रामा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि हुने गर्छन्।

जात्राको मुख्य आकर्षण जीवित देवी कुमारीसँगै गणेश र भैरवको रथयात्रा हो। यससँगै लाखे, पुलुकिसी, देवी नाच, महाकाली नाचलगायतका परम्परागत सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिन्छ।

यस वर्ष इन्द्रध्वज अर्थात् यँसि उठाउने साइत असोज ७ गते बिहान ७ बजेर ४७ मिनेटमा तय गरिएको छ। त्यसपछि  ९ गतेदेखि मुख्य रथयात्रा सुरु हुनेछ।

जात्रालाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिका, गुठी तथा सम्बन्धित निकायले सुरक्षा, ट्राफिक, स्वयंसेवा तथा अन्य व्यवस्थापनको तयारी अघि बढाएका छन्।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्राले मौलिक संस्कृति, परम्परा र सम्पदालाई जीवन्त राख्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *