‘संविधान गुमे देश गृहयुद्धमा फस्छ’
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक र बाह्य शक्तिबाट चौतर्फी प्रहार भइरहेको दाबी गरेका छन्।
आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सिंहले संविधान असफल भए तत्काल अर्को संविधान बन्न नसक्ने बताएका हुन्।
उनका अनुसार वर्तमान संविधान गुमे देश लामो समयसम्म राजनीतिक अन्योलमा फस्ने र गृहयुद्धको जोखिमसमेत बढ्न सक्छ।
उनले संविधान गुमे मधेशले विभिन्न आन्दोलनबाट प्राप्त गरेका अधिकार र उपलब्धि पनि गुम्न सक्ने दाबी गरे।
सिंहले केन्द्रको सत्ता सञ्चालन गर्नेहरूले मधेशलाई निरन्तर उपेक्षा गर्दै आएको आरोप लगाए।
उनका अनुसार मधेश र कोशी प्रदेशलाई रणनीतिक रूपमा ‘ब्याटल ग्राउन्ड’ बनाउने प्रयास भइरहेको छ।
सिंहले आफ्नै पार्टी नेतृत्वको सरकार भए पनि जनताका सवालमा खबरदारी जारी राख्ने बताए।
उनले मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति-सुरक्षा र सरसफाइजस्ता आधारभूत सेवा अझै कमजोर रहेको बताए। मधेशमा अहिलेसम्म स्तरीय सरकारी मेडिकल कलेज वा सुपर स्पेसियालिटी अस्पताल नहुनु विडम्बना भएको उनको भनाइ छ।
सिंहले मधेशका वास्तविक समस्या र जनताको अपेक्षा बुझ्न छठ पर्वपछि मेची-महाकाली पैदल यात्रा सुरु गर्ने घोषणा गरेका छन्।
उनका अनुसार यात्रा जनकपुरधामबाट सुरु हुनेछ। यात्राका क्रममा विभिन्न ठाउँमा पुगेर स्थानीयका समस्या, विकासका चुनौती र जनअपेक्षाबारे प्रत्यक्ष जानकारी लिने योजना छ।
सिंहले पैदल यात्रामार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका मुद्दालाई राजनीतिक बहसको केन्द्रमा ल्याउने बताएका छन्।
