`

एमालेको ‘तीन प्रतिवेदन’ हल्ला खारेज, नेतृत्व फेर्ने एजेन्डा नै छैन

Nepal One HD ४ असोज २०८३ १४:४६
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठन र चुनावी समीक्षाका विषयमा तीनवटा छुट्टाछुट्टै प्रतिवेदन तयार भएको चर्चा चले पनि त्यस्तो नभएको पार्टी सचिव पद्मा अर्यालले स्पष्ट पारेकी छन्।

उनका अनुसार कार्यदलले विभिन्न विषयमा तयार पारेका मस्यौदालाई एकीकृत गरेर एउटै साझा प्रतिवेदन केन्द्रीय सचिवालयमा पेस गर्ने निर्णय गरेको छ।

कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा गम्भीर छलफल भएको बताइन्।

उनका अनुसार विभिन्न कोणबाट आएका सुझावलाई विषयगत मस्यौदाका रूपमा छलफल गरिएको थियो। ती मस्यौदालाई एकीकृत गरेर अन्तिम प्रतिवेदन बनाइएको हो।

‘तीनवटा प्रतिवेदन होइन, ती केवल विषयगत मस्यौदाहरू मात्र थिए। विभिन्न कोणबाट आएका सुझाव मस्यौदा हुन्। कार्यदलले एकीकृत गरेर फाइनल गरेपछि मात्र त्यो प्रतिवेदन हुन्छ,’ अर्यालले भनिन्।

कार्यदलका संयोजकले पेस गरेको मस्यौदामा आवश्यक थपघट गरेर बैठकले पारित गरेको पनि उनले जानकारी दिइन्।

पार्टी पुनर्गठनको नाममा नेतृत्व परिवर्तनको विषय पनि प्रतिवेदनमा समेटिन्छ कि भन्ने प्रश्नमा अर्यालले स्पष्ट जवाफ दिएकी छन्।

उनका अनुसार कार्यदलले नेतृत्व पुनर्गठनसँग सम्बन्धित कुनै विषय प्रतिवेदनमा राखेको छैन।

पार्टी पुनर्गठन र चुनावी समीक्षाका विषयमा छलफल भए पनि नेतृत्व परिवर्तनको प्रस्ताव कार्यदलबाट सचिवालयमा नजाने उनले स्पष्ट पारिन्।

अब कार्यदलले पारित गरेको एकीकृत प्रतिवेदन एमाले केन्द्रीय सचिवालयमा पेस हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *