बाढी प्रभावित बालबालिकाको पढाइ नरोकिने, अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन पुनर्निर्माणसम्मको योजना
काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका योजना अघि बढाएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बाढीबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण हुनुअघि अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा तथा आवश्यकताअनुसार आवासीय व्यवस्थामार्फत पठनपाठन सञ्चालन गरिने जानकारी दिए।
उनले बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा सुनिश्चित गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रसमेतको साझेदारीमा ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’अघि बढाएको बताए ।
“कुनै पनि बालबालिका सिकाइबाट वञ्चित हुने अवस्था आउन दिइने छैन,” मन्त्री पोखरेलले भने ।
विपद्पछिको आवश्यकता मूल्याङ्कन ९पिडीएनए० प्रतिवेदनका आधारमा क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण योजना तयार गरी कार्यान्वयन गरिने उनले बताए । तत्कालका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी सिकाइ केन्द्र तथा आवश्यक आवासीय सुविधा सञ्चालनमा सहयोग गरिने छ ।
होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श दिइरहेको र उनीहरूको सिकाइ निरन्तरताका लागि व्यवस्था मिलाइएको छ ।
