`

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

Nepal One HD ११ असोज २०८३ १८:०३
समाचार

स्याङ्जा। अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ। स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेतीखोलाको किनारमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको हो।

चार दिनदेखि निरन्तर रुपमा परेको वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका-५ तर्फको बजारका १७ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। त्यस्तै, पर्वततर्फका नौ घरमा क्षति पुगेको गल्याङ-५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए।

“स्याङ्जातर्फका १७ घरमा बाढी पस्दा घरहरू भत्किनुका साथै डुबानमा परेका छन्”, उनले भने, “गएराति २ः०० बजेतिरदेखि नदी तथा खोलामा बहाव बढेसँगै स्याङ्जा र पर्वततर्फका बाढी प्रभावितलाई पर्वततर्फको शालिग्राम मावि परिसरमा राखिएको छ।”

विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावितलाई तत्काल खानपान तथा आश्रयको व्यवस्थापन मिलाइएको उनले बताए। बाढीका कारण मानवीय क्षति नभएपनि केही पशुचौपाया भने नदीले बगाएर लगेको उनको भनाइ छ।

बजार डुबानमा परेपछि अहिले त्यहाँको जनजीवन प्रभावित बनेको छ । बाढीका कारण विश्व विराट शालिग्राम शीला डुबानमा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाका सबै ढोका खोलेर विद्युत उत्पादन बन्द गरिएको छ । नदीमा आएको बाढीले आज बिहान मिर्मीस्थित स्याङ्जा र गुल्मीलाई जोड्ने मोटरेबल पुलसमेत बगाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *