`

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

Nepal One HD ११ असोज २०८३ २१:५८
समाचार

काठमाडौँ। नेपाली सेनाले अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबान प्रभावित क्षेत्रबाट आज ६८४ जनाको उद्धार गरेको छ ।

सेनाले आज पर्वत, म्याग्दी, बागलुङ र जाजरकोटका विभिन्न स्थानबाट उनीहरुलाई उद्धार गरी सुरक्षित स्थलमा स्थानान्तरण गरेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा पहिरो गई फसेका ७८ जनालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरी मुक्तिमार्ग माध्यामिक विद्यालयमा लगिएको छ ।

यस्तै, पर्वत, म्याग्दी र बागलुङबाट ६०२ जनालाई जमिनी उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ वडाबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ ।

जाजरकोटको भेरी नगरपालिका–१३, कुदुस्थित भेरी नदीको टापुमा फसेका चार जनालाई हेलिकप्टर उद्धार गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मुक्तिमार्ग माध्यामिक विद्यालय, बागलुङको तमानखोला गाउँपालिकाको सोलेडाँडा र पर्वतको जलजला गाउँपालिकामा सैनिक हेलिकप्टरद्वारा ९७९ किलो राहात सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ ।

सेनाले डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित भगरियामा अवरुद्ध जोगबुडा–बुडर सडकखण्ड पहिरो हटाई सञ्चालनमा ल्याएको छ । रौतहटको मौलापुर नगरपालिका–१, मर्यादापुरस्थित लालबकैया नदीमा करिब ८० मिटर बाँध मर्मत गरी मजबुद बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *