`

सप्तरीमा बाढीबाट पाँच सय परिवार विस्थापित

Nepal One HD ११ असोज २०८३ २२:०९
समाचार

सप्तरी । सप्तरीको सप्तकोशी नदीमा गएको बाढीले ५०० भन्दा बढी घर डुबानमा परेका छन् । यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिकाको तटीय क्षेत्रमा बसोबास गर्ने वडा नं पाँच हजार ७१२ मा ३८० र वडा नं १३ को गोबरगाढा टापुमा १५० घर डुबानमा परेका छन् भने तिलाठी कोइलाडी गाउँपालिकाको २७ घर डुबानमा परेका छन् ।

तीन दिनदेखि पानी घरभित्रै पसेपछि घरमा भएको खाद्यान्न, लत्ताकपडा, दाउरालगायत सामग्री निकाल्न नसक्दा हामी बाढीबाट प्रभावितलाई खाना पकाउनसमेत समस्या भएको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ की ४० वर्षीया विमलाकुमारी सदाले बताइन्।

उनले भनिन्, “दुई सानासाना नातिनातिनासहित आठ जनाको परिवार छौँ । शनिबार रातिदेखि नगरपालिकाले बिहान बेलुकी खाना खुवाउन थालेको छ ।” बस्न, नुहाउन र लुगा धुन पनि एकदमै समस्या भएको सदाले बताइन्।

“हाम्रो परिवार यहाँ बसेदेखि चौथो पुस्तामा आइसकेको र यो समस्या चार पुस्तादेखि झेल्दै आएका छौँ । चौथो पुस्ता अहिले बालबालिका नै छन् । प्रत्येक वर्ष वर्षा याममा बाढीले यसरी नै घर डुबाएर सबै सखाप पार्छ । पानी सुकेपछि सबै शून्यबाट सुरू गर्दागर्दै फेरि एक वर्षपछिको अवस्था यस्तै हुँदै आएको छ । हामी यहाँ बसोबास गर्ने सबैको सम्पत्तिका नाममा केही छैन । विकल्प नभएपछि ठाउँ छोड्नसक्ने अवस्था छैन । सरकारले हामीलाई बसोबासका लागि विकल्प दिनुपर्‍याे”, सदाले भनिन्।

स्थानीय २५ वर्षीया आरतीदेवी सदा ससाना चार सन्तानसहित सोही ठाउँमा बसोबास गर्दै आएका छिन्। श्रीमान् भने मजदुरीका लागि भारतको पञ्जाब गएको चार महिना भयो । बाढीका बेला चार वटा सन्तान लिएर एक्लै बस्नुपर्दा थप समस्या भएको छ । घरमा भएको खाट पनि सुत्नका लागि निकाल्ने कोही नभएको उनले बताइन्।

सदाले भनिन्, “त्रिपाल टाँगेर कसरी बसौँ ? दुई छाक खान पाएका छौँ । कतैबाट आएको राहत पनि राख्ने ठाउँकोसमेत व्यवस्थापन गर्न सकेकी छैन ।”

बस्तीमा बसोबास गर्ने सबैको समस्या उस्तै रहेको स्थानीय ३० वर्षीया बौकी देवी सदाले बताइन्। उनले भनिन्, “सबैभन्दा बढी हामीलाई खानेपानीको समस्या छ । पानीमा डुबेको चापाकलको पानी पिउनुपर्ने बाध्यता छ ।”

गोबरगाढा टापुको मात्र १५० परिवारसहित पालिकाको ५०० भन्दाबढी परिवार डुबानमा परी विस्थापित भएको हनुमान नगर कङ्कालिनी नगरपालिकाका नगरपालिका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए।

उनले भने, “गोबरगाढा बस्तीका बढी प्रभावित परिवारलाई बस्तीका पश्चिमी भागमा टेन्टमा र कोसी तटीय क्षेत्रमा डुबानमा परेका परिवारलाई तत्काल टेन्टमा सारिएको छ ।” पालिकाको वडा नं ७ र ५ को १५४ परिवारका घरमा पानीका कारण खाना पकाउने अवस्था नभएपछि पालिकाले शनिबारदेखि दुई छाक खाना खुवाउने ब्यवस्था मिलाएको उनले बताए।

कोसीको बाढीले तिलाठी कोइलाडी गाउँपालिका–४, ५ र ११ वडाका २७ घर बाढीमा बाढी बसेर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरूणकुमार मण्डलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *