लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, पहिरो र डुबानबाट सयौँ प्रभावित
लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म ७८ वटा विपद्का घटना भएका छन् ।
प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र (पिइओसी) का अनुसार विपद्का घटनामा परी छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी पाँचको मृत्यु र एक जना घाइते भएका छन् । पहिरोका कारण ४८० जना विस्थापित भएका छन् । यस्तै १० घर पूर्ण र आठ घर आंशिक रूपमा क्षति भएका छन् भने १०० घर जोखिममा रहेका प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन शाखाका अधिकृत विजयसिंह ठकुरीले जानकारी दिनुभयो ।
डुबानका २६ घटनामा ७७८ जना सुरक्षित स्थानमा सारिएका छन् । डुबानका कारण नौ घर पूर्ण र १३ घर आंशिक रूपमा क्षति भएका छन् भने १६ घर डुबानमा परेका छन् । त्यस्तै, ७० घर जोखिममा रहेका विवरणमा उल्लेख छ ।
हावाहुरीका १३ र बाढीका आठ वटा घटना भएका अधिकृत ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार हुरीबतासका कारण एक जनाको मृत्यु भएको छ भने एउटा घर पूर्ण र ३५ वटा घरमा आंशिक क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षति भएका छन् ।
