दसैँको पूर्वसन्ध्यामा जडीबुटीमा र्यापर भियोमाकाे लाइभ कन्सर्ट
काठमाडौंको जडीबुटीस्थित क्लब १८ मा चर्चित र्यापर भियोमाको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। दसैँको पूर्वसन्ध्यामा आगामी असोज १६ गते (अक्टोबर २) आयोजना हुने ‘भियोमा लाइभ’मा भियोमाले आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्।
क्लब १८ को आयोजनामा हुने कार्यक्रम राति ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा भियोमाका ‘भयंकर’, ‘मुक्तक’, ‘झुम्का’, ‘गाेरी´, ‘मायाले मात्य म’, ‘ढाका–धोती’, ‘भाइभ हान्यो’, ‘बाल्दे’ र ‘आक्रमण’ लगायत चर्चित गीतमा प्रत्यक्ष प्रस्तुति रहनेछ। भियोमाको लाइभ प्रस्तुतिसँगै डिजेको प्रस्तुति पनि कार्यक्रममा रहने आयोजकले जनाएको छ।
दसैँको माहोल सुरु भइसकेको समयमा युवापुस्तालाई लक्षित गर्दै कार्यक्रम आयोजना गर्न लागिएको क्लब १८ का सञ्चालक सुजन श्रेष्ठले बताए। दसैँअघि साथीभाइ तथा परिवारसँग भेटघाट गर्दै संगीत र मनोरञ्जनमा रमाउने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको उनको भनाइ छ।
‘दसैँ भनेकै भेटघाट, रमाइलो र खुसी साटासाट गर्ने समय हो। यही माहोललाई अझ विशेष बनाउन क्लब १८ मा भियोमाको लाइभ कार्यक्रम गर्न लागेका हौँ। भियोमाका गीत अहिले युवापुस्तामाझ निकै लोकप्रिय छन्। उहाँको प्रत्यक्ष प्रस्तुति र क्लबको वातावरणले दर्शकलाई दसैँको पूर्वसन्ध्यामा छुट्टै रमाइलो अनुभूति दिनेछ भन्ने विश्वास छ,´ श्रेष्ठले भने।
कार्यक्रममा सहभागी हुन चाहने दर्शकका लागि टेबल रिजर्भेसनको व्यवस्था गरिएको आयोजकले जनाएको छ। क्लब १८ ले संगीतप्रेमी तथा युवापुस्तालाई दसैँको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांगीतिक रातमा सहभागी हुन आग्रह गरेको छ।
