`

चलचित्र ‘ककाकिकी’को एड्भान्स बुकिङ खुला

Nepal One HD १० मंसिर २०८३ १३:४७
मनोरञ्जन

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली हास्यप्रधान चलचित्र ‘ककाकिकी’को अग्रिम टिकट बुकिङ खुला भएको छ। देशभरका विभिन्न सिनेमाघरले चलचित्रको एड्भान्स बुकिङ सुरु गरेका छन् भने केही हलमा बुकिङ खुल्ने क्रम जारी छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स, वान सिनेमाज र आईएनआई सिनेमाजलगायतले चलचित्रको अग्रिम टिकट बुकिङ खुला गरेका हुन्। दर्शकले खल्ती र ईसेवा एपमार्फत अनलाइन टिकट खरिद गर्न सक्नेछन्। त्यस्तै, क्युएफएक्सको आधिकारिक वेबसाइटबाट समेत टिकट बुकिङ गर्न सकिने व्यवस्था छ।

बुकिङ खुला भएसँगै दर्शकले चलचित्रका लागि अग्रिम टिकट काट्न थालेका छन्। खल्ती एपमा उपलब्ध विवरणअनुसार बिहीबार दिउँसो १२ बजेसम्म चलचित्रका लागि ६४ शो उपलब्ध थिए। विभिन्न हलमा शो थपिने क्रम जारी रहेकाले प्रदर्शन मिति नजिकिँदै जाँदा शो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

गत मंगलबार काठमाडौंमा आयोजित ग्रान्ड प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको थियो। विशेषगरी चलचित्रको प्रस्तुतीकरण र कथावस्तुको दर्शक तथा उपस्थित पाहुनाले प्रशंसा गरेका थिए।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा तयार भएको चलचित्रमा नेपाली चलचित्र तथा हास्य क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ।

श्रद्धा प्रसाईं र सुमित्रा थापा चलचित्रका निर्माता हुन्। सुमन अग्रवालको अवधारणामा बनेको चलचित्रको कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरका रूपमा काम गरेका छन्।

चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्। अनिश बुढाथोकी मुख्य सहायक निर्देशक तथा विशाल राई सहायक निर्देशकका रूपमा रहेका छन्। अनिश तामाङले मेकअप, सुमन परियारले कस्ट्युम डिजाइन र अरुण रेग्मीले प्रोडक्सन हेडको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रको डिजिटल वितरण अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ।

‘ककाकिकी’ आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *