संवादपछि सरकार विस्तार हुन्छ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगको संवादपश्चात् सरकार विस्तार गर्ने बताएका छन् ।
मुख्यमन्त्री यादवले आज कुराकानी गर्दै काठमाडौँमा गएर विभिन्न राजनीतिक दलका केन्द्रीय अध्यक्षसहितका शीर्ष तहका नेतासँग संवाद गरेपछि सरकार विस्तार गर्ने योजना बनाएको बताए ।
“केही दिनभित्रै काठमाडौँ जान्छु”, मुख्यमन्त्री यादवले भने, “काठमाडौँमा कांग्रेस, एमाले र नेकपालगायतका दलका शीर्ष नेतालाई भेटेर छलफल गर्छु, अनि सरकार विस्तार गर्छु ।”
मधेस प्रदेशमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने आफ्नो चाहना रहेको मुख्यमन्त्री यादवले बताए । यही मङ्सिर ५ गते मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
