‘ईपीजी र सीमा विवाद संसद्मा उठाउँछौँ’
खासगरी वर्षौँदेखि नेपाल–भारत सम्बन्धको समस्याका रूपमा रहँदै आएको सीमा विवाद यसपटक उठ्न सकेन। विगतमा शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नेदेखि भारतीय फिल्म प्रदर्शनमा रोक लगाउनेसम्मका राष्ट्रवादी कदम चालेका थिए।
अर्कोतिर, प्रधानमन्त्री बनेपछि संसद्को रोस्ट्रमबाट उनले ‘भारतले मात्रै होइन, नेपालले पनि भारतको थुप्रै ठाउँमा जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि भारत भ्रमणका क्रममा सीमा विवादको विषय उठाउनुपर्ने दबाब उनीमाथि थियो। तर उनले भ्रमणका क्रममा यो विषय उठाउन सकेनन्।
अब यही विषयलाई नेपाली कांग्रेसले संसद्को मुद्दा बनाउने भएको छ। कांग्रेसका सचेतक निष्कल राईले भारत भ्रमणका क्रममा उठाउनुपर्ने कतिपय महत्त्वपूर्ण विषय छुटेको भन्दै आगामी संसद् अधिवेशनमा सरकारसँग जवाफ माग्ने बताएका छन्।
कांग्रेस केन्द्रीय समितिको बैठकपछि बोल्दै राईले सीमा समस्या, लिपुलेक, बृहत्तर नेपालको नक्सा र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयनजस्ता विषयमा थप पहल हुनुपर्ने बताए। प्रधानमन्त्री शाहले सरकारमा आउनुअघि व्यक्त गरेका धारणा र अहिलेको व्यवहारबीच १८० डिग्रीको परिवर्तन देखिन नहुने उनको भनाइ छ।
नेपालवान एचडीसँगको अन्तर्वार्ताका क्रममा राईले सरकारका राम्रा काममा समर्थन गर्ने तर कमजोरीमाथि प्रश्न उठाउने स्पष्ट पार्दै किसान, चिया श्रमिक र सुकुम्बासीका मुद्दासमेत संसद्मा उठाउने बताए। साथै, सरकारले ल्याएका अध्यादेश र संवैधानिक निकाय सञ्चालनको प्रक्रियामाथि पनि कांग्रेसले प्रश्न गर्ने उनले बताए।
प्रस्तुत छ, नेपालवान एचडीका लागि रामचन्द्र जोशीले कांग्रेस सचेतक राईसँग गरेको भिडियोवार्ताको संक्षिप्त र सम्पादित अंश :
बैठकमा के-कस्ता विषयमा छलफल भइरहेको छ?
‘हामी तयार छौँ’ अभियानका लागि के-कस्ता तयारी गर्ने, कसरी अभियानलाई अझ राम्रो ढंगले तल्लो तहसम्म पुर्याउने भन्ने विषयमा छलफल भइरहेको छ। केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिरहनुभएको छ।
प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किनुभयो। यो भ्रमणमा के भयो, के भएन?
राजकीय भ्रमण सकेर सम्माननीय प्रधानमन्त्रीज्यू फर्किनुभएको छ। हाम्रो तर्फबाट पनि उहाँलाई स्वागत छ। यो भ्रमणका लागि लामो समयदेखि तयारी भएको जस्तो लाग्छ। केही कुरा उपलब्धिमूलक भएका पनि छन्।
तर अझै धेरै कुरा गर्न सकिन्थ्यो। प्रधानमन्त्रीज्यूले महानगरको कार्यकारी भूमिकामा रहँदा उठाउनुभएका विषयहरू पनि थिए। हामीसँग सीमा समस्यादेखि ईपीजीको प्रतिवेदनसम्मका कुरा छन्। जलवायु न्यायको विषय पनि उठाउन सकिन्थ्यो। लामो समयदेखि रोकिएका भारतले प्रतिबद्धता जनाएका आयोजना कार्यान्वयन गर्ने विषयमा पनि कुरा हुन सक्थ्यो। दीर्घकालीन महत्त्वका विषयमा थप छलफल भएको भए राम्रो हुन्थ्यो।
भनेपछि सोचेजति उपलब्धिमूलक हुन सकेन भन्ने तपाईंहरूको निष्कर्ष हो?
छिमेकी मुलुकले निमन्त्रणा गर्नु स्वाभाविक हो। यस्ता भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउँछन् र बनाउनु पनि पर्छ भन्ने हाम्रो मान्यता हो।
तर प्रधानमन्त्रीज्यूले हिजोदेखि उठाउँदै आउनुभएका विषयहरूमा ध्यान दिनुपर्थ्यो। हिजो सरकारमा नहुँदा उहाँका जुन अभिव्यक्ति आउँथे, आज त्यसबाट १८० डिग्री परिवर्तन नभएको भए हुन्थ्यो भन्ने मात्रै हो।
भारतले ईपीजीको प्रतिवेदनलाई विगत भइसकेको बताएको छ। अब यो विषयलाई नेपाली कांग्रेसले संसद् बैठकमा कसरी उठाउँछ?
अवश्य उठाउँछौँ। सरकारले राम्रो काम गर्छ भने कुनै आग्रह–पूर्वाग्रह नराखी समर्थन गर्छौँ। तर सरकारले गरेका कमजोरीमाथि प्रश्न पनि गर्छौँ। हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ।
अहिलेको अवस्था हेर्दा सरकार लोकतान्त्रिक व्यवस्थाअनुसार चलिरहेको छ कि छैन भन्ने प्रश्न उठेको छ। हामीसँग विधिको शासन छ, तर व्यवहारमा त्यसको अभाव देखिएको छ।
अहिले आम किसानका मुद्दा छन्। चिया किसान र श्रमिकका समस्या छन्। सुकुम्बासीको मुद्दा पनि छ। सरकारले भर्खरै ल्याएका तीनवटा अध्यादेशको विषय पनि छ। संसद् नचलेको अवस्थामा आवश्यकताअनुसार अध्यादेश ल्याउनुपर्ने हो। तर सरकारले अध्यादेश ल्याएर आफ्नो काम गर्ने र त्यसपछि थन्क्याउने प्रवृत्ति देखाएको छ। यो विधिसम्मत र कानुनसम्मत होइन।
सरकारसँग ठूलो बहुमत र जनताको अपेक्षा छ। त्यसलाई आधार बनाएर सरकार विषाक्त नेतृत्वमा परिणत नहोस् भन्ने हाम्रो कामना हो।
हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ। आम नेपाली नागरिकले हामीलाई संसद्मा त्यही भूमिका निर्वाह गर्न पठाएका हुन्। भारत भ्रमण, भारतीय विदेश सचिवले राखेका धारणा, सीमा विवादलगायत नागरिकका मुद्दा आगामी संसद् अधिवेशनमा उठाउनेछौँ।

कांग्रेसको ‘हामी तयार छौँ’ अभियान के हो?
आगामी आवधिक निर्वाचनका लागि कांग्रेस तयार छ। नागरिकका लागि विगतमा गरेका कमजोरी स्वीकार गर्दै आगामी दिनमा सशक्त भूमिका निर्वाह गरेर राज्यलाई विधिसम्मत ढंगले अघि बढाउन, लोकतन्त्र र संविधान जोगाउन हामी तयार छौँ।
नागरिकको विश्वास जित्न हाम्रा साथीहरू स्थानीय तहदेखि टोल–टोलसम्म पुग्नेछन्। आगामी निर्वाचनका लागि पार्टी तयार छ भन्ने सन्देश दिन चाहन्छौँ।
कांग्रेसको देउवा पक्षले समानान्तर रूपमा अधिवेशनको तयारी गरिरहेको छ। त्यो पक्षलाई समेट्न सानेपा कांग्रेसले के गर्दैछ?
हामी अगाडि बढिसकेका छौँ। कांग्रेसमा आबद्ध व्यक्तिहरू हुनुहुन्छ। निर्वाचन आयोगमा दर्ता भएको र आयोगले मान्यता दिएको नेपाली कांग्रेस हामी नै हौँ। अब अरू पक्षले पनि हाम्रो पार्टीको झण्डा र चुनाव चिह्न राखेर कार्यक्रम आयोजना गर्छ भने त्यसबारे निर्वाचन आयोगले नै जान्ने कुरा हो।

