`

कागजी होइन, क्रियाशील संगठन बनाउन कार्यकर्तालाई लिङ्देनको निर्देशन

Nepal One HD १० मंसिर २०८३ १९:१३
बिशेष

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको विकृति, असहयोग र निष्क्रियता अन्त्य गर्दै क्रियाशील संगठन निर्माणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। बिहीबार भैरहवामा आयोजित राप्रपा लुम्बिनी प्रदेश कार्यसमितिको शपथग्रहण कार्यक्रममा बोल्दै उनले आगामी महाधिवेशनलाई लक्षित गरी पार्टीलाई अनुशासित, व्यवस्थित र जनतासँग जोड्नुपर्ने बताए।

निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै लिङ्देनले पराजित भएपछि विजयी नेतृत्वलाई असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए। ‘एउटा चुनाव हार्दैमा राजनीति सकिँदैन र एउटा चुनाव जित्दैमा वाहवाही हुने पनि होइन,’ उनले भने। उनले राजनीति व्यक्तिगत स्वार्थ र पद प्राप्तिको माध्यम नभई इमानदारी, निष्ठा र सेवाभावमा आधारित हुनुपर्ने बताए। साथै भ्रष्टाचारविरुद्ध कठोर अडानसहित पार्टी निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता तथा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि पार्टीभित्रको अनुशासनहीनता र नेतृत्वविरुद्धको अनावश्यक विरोध अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। उनले महाधिवेशनमा विधि र प्रक्रियाअनुसार प्रतिस्पर्धा गर्न सबैलाई आह्वान गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *