गगनलाई नचिन्ने शशांक को हुन् ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई ‘चिन्दिनँ’ भन्दै सार्वजनिक मञ्चबाटै कटाक्ष गर्ने डा. शशांक कोइराला यतिबेला चर्चामा छन्।
रुपन्देहीमा आयोजित जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले कार्यकर्तालाई गगनको नामसमेत नलिन उर्दी लगाए। ‘जति गगन थापाको नाम लिनुहुन्छ, त्यति उहाँको महत्त्व बढ्छ। को हो गगन थापा ? म त चिन्दा पनि चिन्दिनँ,’ शशांकले भने।
तर, गगनलाई नचिन्ने शशांक को हुन् ? उनको आफ्नै राजनीतिक हैसियत के हो ? बीपीको विरासतबाहेक उनले कांग्रेसमा के योगदान गरेका छन् ? अहिले कांग्रेसभित्र चलिरहेको शक्ति संघर्षमा उनको भूमिका के छ ?
शशांकको सबैभन्दा ठूलो परिचय नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा हुनु हो। बीपीको नाम र कोइराला परिवारको राजनीतिक विरासतले उनलाई कांग्रेसको राजनीतिमा प्रवेशदेखि नै विशेष पहिचान दिलायो। पेसाले चिकित्सक रहेका शशांक राजनीतिमा आउनुअघि नेत्र चिकित्सकका रूपमा स्थापित थिए। चिकित्सा क्षेत्रको लामो अनुभवपछि उनी सक्रिय राजनीतिमा होमिए।
राजनीतिमा आएपछि नवलपरासीलाई आफ्नो चुनावी आधार बनाए। २०६४ र २०७० सालको संविधानसभा निर्वाचन जिते। त्यसपछि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भए। लगातार चारपटक चुनाव जित्नु उनको राजनीतिक उपलब्धि हो। तर, चुनाव जित्नु र पार्टीलाई वैचारिक दिशा दिन सक्नु फरक विषय हुन्।
२०७२ सालको कांग्रेसको १३औँ महाधिवेशनमा उनी महामन्त्री निर्वाचित भए। त्यतिबेला महामन्त्रीको प्रतिस्पर्धामा गगन थापा पनि थिए। शशांकले १ हजार ४१७ मत ल्याउँदा गगन ५८४ मतमै रोकिएका थिए। कुनै समय चुनावी प्रतिस्पर्धामा गगनलाई पछाडि पारेका शशांक अहिले उनै गगन सभापति बनेपछि सार्वजनिक मञ्चबाट नचिनेको अभिनय गरिरहेका छन्।
कांग्रेसको राजनीतिमा शशांकको अर्को परिचय गुटगत समीकरणसँग जोडिन्छ। कोइराला परिवारभित्रै शेखर कोइरालाको नेतृत्व आकांक्षा र देउवा पक्षको शक्ति समीकरण चलिरहेका बेला शशांकको भूमिका पनि विवादरहित रहेन। अहिले गगन नेतृत्वलाई चुनौती दिइरहेको देउवा पक्षको समानान्तर राजनीतिक अभियानमा उनी महत्वपूर्ण जिम्मेवारीमा छन्। अर्थात्, बीपीको विरासत बोकेका शशांक अहिले देउवा पक्षको राजनीतिक छातामुनि उभिएका छन्।
यहीँनेर उनको पछिल्लो अभिव्यक्तिको राजनीतिक अर्थ खोज्नुपर्ने हुन्छ। गगनलाई नचिन्ने घोषणा गर्नुको पछाडि व्यक्तिगत असन्तुष्टि मात्रै छ कि कांग्रेसको नयाँ शक्ति संरचनाप्रतिको असहमति ? नेतृत्व परिवर्तन भएपछि पनि पुरानो संस्थापनको प्रभाव कायम राख्ने प्रयास हो कि आफ्नै राजनीतिक अस्तित्व देखाउने रणनीति ? यी विषय कांग्रेसभित्र चर्चामा छन्।
शशांकलाई आलोचना गर्नेहरू उनीसँग बीपीको नामबाहेक आफ्नै स्पष्ट राजनीतिक एजेन्डा के छ भन्ने जिज्ञासा राख्छन्। पार्टीलाई कुन वैचारिक दिशामा लैजाने, संगठनलाई कसरी पुनर्गठन गर्ने र बदलिँदो पुस्ताको अपेक्षालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा उनको ठोस राजनीतिक खाका सार्वजनिक रूपमा देखिन सकेको छैन। अर्कोतर्फ, उनका समर्थकहरू चारपटक चुनाव जितेको अनुभव र कांग्रेसको नेतृत्व तहमा बिताएको समयलाई उनको राजनीतिक पूँजीका रूपमा प्रस्तुत गर्छन्।
तर, राजनीति बाउको नामले सुरु होला, टिक्ने भने आफ्नै विचार र कर्मले हो। बीपीको छोरा हुनु शशांकको परिचय हो, बीपीकै विचारको उत्तराधिकारी प्रमाणित हुनु अर्कै कुरा। गगनलाई नचिनेको घोषणा गरेर कांग्रेसको नेतृत्वमा आफ्नो स्थान स्थापित हुँदैन।
