`

प्यूर्टो रिकोकी जेनिफर बरेटो बनिन् मिस युनिभर्स २०२६

Nepal One HD ९ मंसिर २०८३ १६:२९
मनोरञ्जन

काठमाडौं । प्यूर्टो रिकोकी २७ वर्षीया जेनिफर बरेटोले मिस युनिभर्स २०२६ को उपाधि जितेकी छन् । प्रतियोगिताको ७५औँ संस्करणमा ११५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले आफ्नै देशमा विश्वसुन्दरीको ताज पहिरिएकी हुन् ।

मंगलबार राति (नोभेम्बर २४) प्यूर्टो रिकोको राजधानी सान हुआनस्थित जोसे मिगेल अग्रेलोट कोलिजियममा आयोजित अन्तिम प्रतिस्पर्धामा बरेटो विजयी भएकी हुन् । यससँगै उनी मिस युनिभर्सको इतिहासमा उपाधि जित्ने पहिलो विवाहित महिला र आमा बनेकी छन् ।

बरेटो विवाहित हुन् भने उनकी सात वर्षीया छोरी पेनेलोप छिन् । मनोविज्ञान र सामाजिक कार्यमा शैक्षिक योग्यता हासिल गरेकी उनी सामाजिक सेवामा समेत सक्रिय छिन् । उनले मनोविज्ञानमा स्नातक तथा मनोविज्ञान र क्लिनिकल सामाजिक कार्यमा स्नातकोत्तर गरेकी छन् । अमेरिकी रक्षा मन्त्रालयअन्तर्गत परिवार संरक्षण, हिंसा रोकथाम र बाल संरक्षणसम्बन्धी क्षेत्रमा पनि उनले काम गरेकी छन् ।

मिस युनिभर्स आयोजकले सन् २०२३ मा विवाहित तथा सन्तान भएका महिलालाई प्रतियोगितामा सहभागी हुन नदिने पुरानो नियम हटाएको थियो । त्यसपछि विवाहित र आमा बनेका महिलाले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था भए पनि उपाधि जित्ने पहिलो महिला बरेटो बनेकी हुन् ।

यस वर्ष ११६ देश तथा क्षेत्रका प्रतिस्पर्धी सहभागी थिए । अन्तिम नतिजामा डोमिनिकन गणराज्यकी मेलिसा नुनेज पहिलो उपविजेता, भेनेजुएलाकी क्लारा भेगास दोस्रो, फिलिपिन्सकी बेआ मिलान-विन्डोर्स्की तेस्रो र न्युजिल्यान्डकी जर्जिया वाडिङ्टन चौथो उपविजेता बने ।

बरेटोको जितसँगै प्यूर्टो रिकोले २० वर्षपछि मिस युनिभर्सको उपाधि पुनः जितेको छ । यसअघि सन् २००६ मा जुलेका रिभेराले उपाधि जितेकी थिइन् । यसपटकको जित प्यूर्टो रिकोको छैटौँ मिस युनिभर्स उपाधि हो ।

यस वर्षको प्रतियोगिताले सुन्दरताको प्रतिस्पर्धामा वैवाहिक अवस्था र मातृत्वलाई बाधक नमान्ने आयोजकको नीतिलाई थप स्थापित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *