साबधान! रारा चाउचाउ गुणस्तरहीन प्रमाणित
काठमाडौं । रारा चाउचाउ गुणस्तरहीन प्रमाणित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उत्पादन बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डअनुसार न्यूनस्तरको पाइएको जनाएको हो ।
विभागका अनुसार ६० ग्रामको ‘तयारी चाउचाउ’, ब्याच नम्बर REG 01, RARA ब्रान्डको उत्पादन फिर्ता गर्न निर्देशन दिइएको छ ।
उक्त चाउचाउ पोखरास्थित हिमश्री फुड्स प्रालिले उत्पादन गरेको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को सम्बन्धित प्रावधानअनुसार विभागले उत्पादकलाई उक्त ब्याचका चाउचाउ बजारबाट तत्काल फिर्ता लिन र बिक्री–वितरण नगर्न तथा नगराउन आदेश दिएको जनाएको छ ।
यसअघि पनि रमपम चाउचाउ गुणस्तरहीन प्रमाणित भएको थियो । रमपमपछि रारा चाउचाउसमेत गुणस्तर परीक्षणमा न्यूनस्तरको भेटिएपछि बजारमा बिक्री भइरहेका तयारी चाउचाउको गुणस्तरबारे प्रश्न उठेको छ ।
