`

सल्यानमा स्क्रब टाइफसको संक्रमण सात पालिकामा, ४७२ जनामा पुष्टि

Nepal One HD १४ असोज २०८३ १७:१०
जीवनशैली/स्वास्थ्य

काठमाडाैं। सल्यानमा स्क्रब टाइफसको संक्रमण सात पालिकामा फैलिएको छ । स्वास्थ्य कार्यालयले सञ्चालन गरेका स्वास्थ्य शिविरमा मात्रै दुई हजार चार सयभन्दा बढीको परीक्षण गर्दा ४७२ जनामा संक्रमण पुष्टि भएको छ ।

सुरुमा दार्मा गाउँपालिकामा देखिएको संक्रमण जिल्लाका कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डेमा समेत फैलिएको हो ।

संक्रमण बढेपछि यसको अवस्था, जोखिम क्षेत्र र फैलिनुको कारण अध्ययन गर्न रोग नियन्त्रण महाशाखा, टेकुबाट विज्ञ टोली सल्यान आउने भएको प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले जानकारी दिइन् ।

‘जिल्लाका विभिन्न स्थानमा संक्रमणको अवस्था, जोखिम क्षेत्र र रोग फैलनुको कारणबारे थप अध्ययन तथा विश्लेषण गर्न टोली परिचालन हुन लागेको छ,’ उनले भनिन् ।

दार्मा गाउँपालिकामा मात्रै स्क्रब टाइफसका कारण आठ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा एक महिला, एक बालक र छ पुरुष छन् । स्वास्थ्यकर्मीका अनुसार मृतकमध्ये अधिकांश ज्येष्ठ नागरिक र दीर्घरोगी थिए ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार दार्मामा ११६, कुमाखमा ६५, बागचौरमा १७५, छत्रेश्वरीमा आठ, कालीमाटीमा दुई, कपुरकोटमा ५३ र बनगाड कुपिण्डेमा सात जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, जिल्ला अस्पताल सल्यानमा परीक्षण गरिएका ७८५ जनामध्ये ४६ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।

ज्वरोका बिरामी बढेपछि जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी किटमार्फत परीक्षण गरिएको हो ।

स्वास्थ्यकर्मीहरूले घाँसपात, दाउरा तथा कृषि काम गर्दा किर्नोको टोकाइबाट जोगिन शरीर पूरै ढाकिने कपडा, पञ्जा र घुँडासम्म छोपिने जुत्ता प्रयोग गर्न आग्रह गरेका छन् । घर वरिपरिका झाडी तथा बुट्यान सफा राख्न पनि भनिएको छ ।

तर ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनमा निर्भर नागरिकको दैनिकी नै घाँसपात, झाडी र जंगलसँग जोडिएकाले सावधानी अपनाउन कठिन भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानकी निमित्त प्रमुख प्रतिभा बिकका अनुसार घाँसपात तथा झाडीमा काम गर्दा आवश्यक सावधानी नअपनाउँदा संक्रमणको जोखिम बढेको छ । उनका अनुसार रोग समयमै पहिचान भएपछि नियमित औषधि सेवनबाट अधिकांश बिरामी निको हुन्छन् । तर परीक्षण नगरी जथाभावी औषधि सेवन गर्ने प्रवृत्तिले समस्या निम्त्याउने गरेको छ ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार स्वास्थ्य शिविर सञ्चालन गरी परीक्षण र उपचारलाई तीव्रता दिएपछि पछिल्लो समय स्क्रब टाइफसबाट मृत्यु भएको छैन ।

‘शिविर सञ्चालन गरी किटबाट रोग पहिचान गरेर औषधि सेवन गर्दा पछिल्लो समयमा कसैको मृत्यु भएको छैन,’ बस्नेतले भने, ‘सामान्य बिरामीको पालिकामै उपचार भइरहेको छ । जटिल समस्या भएकालाई मात्र बाहिर पठाउने गरेका छौँ ।’

संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएकाले ज्वरो प्रभावित बस्तीमा पुगेर शंकास्पद बिरामीको परीक्षण, उपचार र स्वास्थ्य सचेतनाको काम भइरहेको उनले बताए ।

जिल्ला अस्पताल सल्यानका डाक्टर जगत किरण ओलीका अनुसार ग्रामीण क्षेत्रका नागरिकको दैनिक कामकाज नै स्क्रब टाइफस सार्ने किर्नोसँग सम्पर्कमा पर्ने भएकाले संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

‘ग्रामीण क्षेत्रका स्थानीय कृषि र पशुपालनमा निर्भर छन् । उनीहरूको दैनिकी नै घाँसपात र दाउरामा बित्छ,’ ओलीले भने, ‘दैनिक दुई–तीन पटकसम्म जंगल आसपासमा जानुपर्ने भएकाले हतारमा काम गर्दा सावधानीका उपाय अपनाउन छुट्ने गरेको छ ।’

जंगल तथा बुट्यानमा काम गर्दा किर्नोको टोकाइबाट संक्रमणको जोखिम बढ्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए । घर वरिपरिका झाडी सफा राख्नुका साथै घाँसपात र दाउरा गर्दा शरीर पूरै ढाकिने कपडा, पञ्जा र जुत्ता प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *