चमेलीको पोइ: १८ वर्षपछि नारायण त्रिपाठीको कमब्याक
काठमाडौं। करिब १८ वर्षपछि ठूलो पर्दामा फर्किएका लोकप्रिय हास्य अभिनेता नारायण त्रिपाठीको पुनरागमनसँगै फिल्म ‘चमेलीको पोइ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ।
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले मायाप्रेम, आशक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न आयामलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ। धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा हास्य र भावनालाई सँगसँगै अघि बढाइएको निर्माण पक्षले जनाएको छ।
निर्देशक बोहराका अनुसार दर्शकलाई करिब साढे दुई घण्टा भरपूर मनोरञ्जन दिने उद्देश्यले फिल्म निर्माण गरिएको हो। विशुद्ध मनोरञ्जनात्मक फिल्म भए पनि कथाले दर्शकको मनलाई भावनात्मक रूपमा छुने उनको विश्वास छ।
लामो समयपछि अभिनयमा फर्किएका नारायण त्रिपाठी आफ्नो पुनरागमनलाई लिएर उत्साहित छन्। करिब दुई दशकअघिसम्म ‘प्रेमचरो’ उपनामले फिल्म तथा सानो पर्दामा चर्चित त्रिपाठी अमेरिका गएपछि ठूलो पर्दाको अभिनयबाट टाढिएका थिए। बीचमा आफैँ फिल्म निर्माण गर्ने प्रयास गरे पनि त्यो सम्भव हुन नसकेको बताउँदै उनले ‘चमेलीको पोइ’मार्फत पुनः दर्शकमाझ आउन पाउँदा खुसी लागेको बताएका छन्।
फिल्ममा मुकुन भुसाल, विल्सन विक्रम राई, उमेश राई ‘फुलन्देकी आमा’लगायत कलाकारको अभिनय छ। मुकुनले ‘चमेलीको पोइ’ले दर्शकलाई भरपूर हँसाउनुका साथै केही ठाउँमा गम्भीर पनि बनाउने बताए। आफूले यसअघि यति धेरै कमेडीप्रधान फिल्ममा काम गर्ने अवसर नपाएको उनको भनाइ छ।
विल्सन विक्रम राईले फिल्म मनोरञ्जनले भरिपूर्ण रहेको बताए। उनले नारायण त्रिपाठीसँग बाल्यकालमै ‘साथी’ फिल्ममा स्क्रिन सेयर गरेको स्मरणसमेत गरे।
यही फिल्मबाट ठूलो पर्दाको यात्रा सुरु गरेका उमेश राईले पनि ‘चमेलीको पोइ’प्रति आफू निकै आशावादी रहेको बताए।
अभिनेत्री सुरक्षा पन्तले निर्देशक बोहरासँग ‘भैरे’पछि दोस्रोपटक सहकार्य गरेकी हुन्। आफूले खोजे र चाहेजस्तै कथा, परिवेश, पात्र तथा चरित्रमा काम गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरेकी छन्।
निर्देशक बोहरा र शिवम् अधिकारीको लेखन रहेको फिल्ममा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई, अंशु महर्जन, बबिन राई, तारा शर्मा, खड्गबहादुर पुन ‘खबपु’, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी, श्रेया नारायणलगायत कलाकारले अभिनय गरेका छन्।
‘चमेलीको पोइ’ आजदेखि अल नेपाल प्रदर्शनमा आएको हो।
