कांग्रेस महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै ३० जना स्वास्थ्यकर्मीको सहभागितामा हेल्थ डेस्क सञ्चालनमा ल्याइने भएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन खुलामञ्चमा स्वास्थ्य कक्षको व्यवस्था गरिएको हो ।
महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार खुलामञ्चको पश्चिमतर्फ पाँचवटा कक्षसहितको हेल्थ डेस्क तयार गरिएको छ । त्यहाँ सामान्य स्वास्थ्य परीक्षणदेखि आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए । उनका अनुसार स्वास्थ्य कक्षमा आठ चिकित्सकसहित पारामेडिक्स र नर्सहरू खटिनेछन् । प्रतिनिधिहरूको मधुमेह र उच्च रक्तचाप परीक्षणका साथै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइनेछ ।
आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा नजिकका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको डा. केसीले बताए । त्यसका लागि महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन् ।
रातिको समयमा स्वास्थ्य समस्या देखिएमा ‘अन कल ड्युटी’को व्यवस्था पनि गरिएको छ । साथै, प्रतिनिधिहरू होटलमा रहेका बेला स्वास्थ्य समस्या आएमा स्वास्थ्यकर्मीलाई सम्बन्धित होटलमै पठाएर जाँच तथा आवश्यक उपचारको व्यवस्था गरिने डा. केसीले जानकारी दिए ।
