प्रचण्डले भने- ‘निरन्तरतामा क्रमभङ्ग गर्दै गगनले कांग्रेसलाई नयाँ इतिहासतर्फ डोऱ्याए’
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका छन्।
आइतबार काठमाडौंमा सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निरन्तरतामा क्रमभङ्ग गर्दै कांग्रेसलाई नयाँ इतिहासतर्फ डोऱ्याएको भन्दै थापालाई बधाई दिए।
प्रचण्डले थापालाई देशको नेतृत्व गर्न सक्ने व्यक्तिका रूपमा आफूले पहिलेदेखि नै हेरेको स्मरण गर्दै अहिले उनको साथमा रहेको बताए।
उनले कांग्रेसमा नयाँ र पुरानो पुस्ताबीच विभाजन गर्न नहुने भन्दै सबै पुस्तालाई समेटेर अघि बढ्नुपर्ने बताए।
प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणमा सबै दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।
