‘सिन्दूर’मा विपिन कार्की र निरुता सिंह
काठमाडौँ । चलचित्र ‘सिन्दूर’मा अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह जोडिएका छन् । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भइरहेको चलचित्रमा दुवै कलाकार मुख्य भूमिकामा देखिनेछन् ।
निर्देशक सुनारका अनुसार निरुताले केही दिनमै चलचित्रको छायाङ्कन सुरु गर्नेछिन् भने विपिनले दसैँपछि छायाङ्कनमा सहभागी हुनेछन् । उनीहरूले निर्वाह गर्ने भूमिकाबारे भने निर्माण पक्षले हालसम्म जानकारी सार्वजनिक गरेको छैन ।
कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको चलचित्रको छायाङ्कन अहिले पश्चिम नेपालमा भइरहेको छ । दाङमा छायाङ्कन भइरहेको चलचित्रमा सञ्जीव सार्कीको लगानी तथा दिनेश सिंह महराको कार्यकारी निर्माण रहेको छ ।
यसअघि अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझीको अभिनयबाट चलचित्रको छायाङ्कन सुरु गरिएको थियो । चलचित्रमा सङ्कल्प भुजेलको छायाङ्कन, प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहेको छ ।
प्रकाश हमाल निर्माण प्रमुख रहेको चलचित्रमा करणबहादुर साउद मुख्य सहायक निर्देशक, रामजी लामिछाने नृत्य निर्देशक र एनबी महर्जन द्वन्द्व निर्देशकका रूपमा छन् । मदन सुरखेतीले सहलेखन गरेको चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन ।
सामाजिक कथावस्तुमा आधारित चलचित्रले एक महिलाका लागि सिन्दूरको महत्त्व र त्यससँग जोडिएका भावनात्मक पक्षलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
