सत्ताको आडमा आईजीपीलाई बदनाम गर्दै खगेन्द्र सुनार (भिडियो)
काठमाडौं । आईजीपी दानबहादुर कार्कीविरुद्ध सत्ताको आडमा भ्रष्टाचारी करार गरिरहने रास्वपा सांसद हुन्– खगेन्द्र सुनार ।
जबकि, कार्की भ्रष्टाचारी हुन् कि होइनन् ? छिनोफानो गर्ने विशेष अदालतले हो । त्यहाँका न्यायाधीशले हुन् । सांसद खगेन्द्र सुनारले होइनन् ।
तर, उनी किन आईजीपी कार्कीलाई भ्रष्टाचार करार गर्न तम्सिएका हुन् ? उनलाई कसको आड भरोसा छ ? त्यो प्रष्ट छ ।
उनी प्रधानमन्त्री बालेनको काँध चढेका छन् । गृहमन्त्री सुधन गुरुङले पनि काँध हालेका छन् र त जेनजी विद्रोहको बेला विद्रोहीहरूले आक्रमण गरेर मनोबल गिराएको प्रहरी र प्रहरी संगठनका प्रमुख कार्कीमाथि लगातार बदनाम गर्ने र भ्रष्टाचारी भन्दै नैतिक रूपमा कमजोर बनाउन उद्धत छन् ।
देशको आन्तरिक सुरक्षा व्यवस्थाको जिम्मा प्रहरीलाई छ । तर, रास्वपा सांसद सुनार प्रहरीका एसपीलाई बाटामा घिसार्ने चेतावनी दिन्छन् ।
केही महिना यता भने सत्ताको आडमा आईजीपी कार्कीलाई म्यादी प्रहरीको पोशाक र जुत्ता खरिदमा भ्रष्टाचार गरेको आरोप लगाइरहेका छन् । मानौँ यतिबेला सांसद सुनारका लागि प्रधान शत्रू नै भएको छ र तिनको छविलाई धुलिसात् पार्नु उनको मुल कर्तव्य हो ।
जबकि, यतिबेला उनकै दल रास्वपाको सरकार छ । त्यो पनि झण्डै दुई तिहाई बहुमतको । तर, छानबिन गरी कारबाही गर्न किन सकेको छैन ? के आरोप मात्रै लगाएर बस्ने ? कि छानबिन गरी दोषी देखिए कारबाही गर्ने ?
यो प्रश्न सांसद सुनारलाई छ । नभए उनलाई आरोप मात्रै लगाउने छुट नभएको बताउँछिन्– राप्रपा सांसद खुश्बु ओली ।
सामाजिक सञ्जालहरूमा सार्वजनिक केही भिडियोमा सांसद सुनारले विगतमा अभियन्ता छँदा प्रहरीको कुटाई खाएको देखिन्छ । उनलाई लछारपछार गरेको देखिन्छ ।
सायद, त्यही भएर पनि उनलाई सिंगो प्रहरी संगठन नै मन नपरेको हुन सक्छ । अर्थात्, प्रहरी संगठनको नेतृत्व बालेन सत्ता अनुकूलको तत्काल ल्याउन आईजीपी कार्कीको बदनाम गरेको हुन सक्ने कतिपयको टिप्पणी छ ।
७९ हजार ५३१ जना प्रहरी संगठन र त्यसका नेतृत्वमाथिको हिलो छ्याप्ने उनको प्रयासको विरोध भइरहेको छ ।
