`

युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कथासंग्रह ‘बैसाखी’ लोकार्पण

Nepal One HD २४ असोज २०८३ २०:४४
समाचार

काठमाडौं । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो साहित्यिक कृति कथासंग्रह ‘बैसाखी’ लोकार्पण भएको छ। शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्राडा महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी र समालोचक एवं ‘बैसाखी’का सम्पादक सुभाषचन्द्र भण्डारीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा अवस्थीले लेखक जोशीमा सिर्जनात्मक प्रतिभा, इच्छाशक्ति र लोकपरिवेशलाई साहित्यमा उतार्न सक्ने क्षमता रहेको बताए। पत्रकारिताबाट साहित्यमा आएका लेखकका शब्दमा विशेष शक्ति हुने उल्लेख गर्दै उनले जोशीको लेखनमा पनि सिर्जनात्मक सम्भावना देखिएको धारणा व्यक्त गरे।

उनले जोशीको लेखनमा लोकपरिवेशको सूक्ष्म चित्रण र भाषिक अलंकारको प्रयोग रहेको बताउँदै साहित्यिक यात्रामा निरन्तरता दिन सुझाव दिए। पुस्तकमाथि परिचर्चा गर्दै साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीले ‘बैसाखी’मा समाजका भुइँमान्छेको इतिहास र जीवनका विविध पक्षलाई कथाका माध्यमबाट प्रस्तुत गरिएको बताइन्। उनले कथासंग्रहमा नारीवादी मनोविज्ञानलाई समेत सशक्त रूपमा उठाइएको उल्लेख गरिन्।

उनका अनुसार पुस्तकमा सामान्य मानिसका अनुभव, संघर्ष र सामाजिक परिवेशलाई साहित्यिक ढंगले अभिव्यक्त गरिएको छ। समाजका ओझेलमा परेका पात्र तथा उनीहरूको जीवन भोगाइलाई कथामा समेट्नु कृतिको महत्त्वपूर्ण पक्ष रहेको उनको भनाइ थियो। त्यस्तै, पुस्तकका सम्पादक तथा समालोचक सुभाषचन्द्र भण्डारीले जोशीको लेखनमा आधुनिक कथाशिल्प र नयाँ पुस्ताको मनोभाव गहिरोसँग अभिव्यक्त भएको बताए। बाल्यकालदेखि गाउँपरिवेशसम्मका विविध विषयलाई लेखकले मिहिन ढंगले कथामा उतारेको उनको भनाइ थियो।

भण्डारीले कतिपय कथामा वास्तविक पात्रको अनुमतिसमेत लिएर कथा निर्माण गरिएको उल्लेख गर्दै यसलाई लेखकको लेखनमा देखिएको नयाँ प्रयोगका रूपमा व्याख्या गरे। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. टीएन जोशीले कृतिकार जोशीले सुदूरपश्चिमको भूमिबाट दुःख र संघर्ष गर्दै साहित्यिक यात्रालाई अघि बढाएको बताए। उनले लेखकले आफूजस्तै सामान्य मानिसका कथा लेख्दै समाजका भुइँमान्छेको जीवन र भोगाइलाई साहित्यमा स्थान दिएको भन्दै खुसी व्यक्त गरे।

कार्यक्रममा प्राध्यापक माधव नेपालले ‘बैसाखी’ लेखनका क्रममा आफूले विभिन्न सुझाव दिएको स्मरण गर्दै ती सुझावलाई आत्मसात् गरेर जोशीले पुस्तकका रूपमा कृति सार्वजनिक गर्न सफल भएकोमा खुसी व्यक्त गरे। कृतिकार यज्ञराज जोशीले आफ्नो साहित्यिक यात्राको प्रेरणाबारे चर्चा गर्दै परदेशिएका बुबालाई आमाले चिठी लेख्दा देउडा गीतका माध्यमबाट आफ्ना भावना व्यक्त गरेको देखेर आफू साहित्यप्रति आकर्षित भएको बताए। आमाको त्यही सिर्जनात्मक अभिव्यक्तिले आफूलाई साहित्य लेखनतर्फ प्रेरित गरेको उनको भनाइ थियो।

‘त्यही प्रेरणाले आज यो पुस्तक ल्याउन सम्भव भएको हो,’ जोशीले भने। पुस्तक प्रकाशन गरेको शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ऊर्जाशील युवा लेखक जोशीको कृति बजारमा ल्याउन पाउँदा खुसी लागेको बताए। उनले नयाँ पुस्ताका लेखकको सिर्जनालाई पाठकमाझ पुर्‍याउनु साहित्यिक क्षेत्रका लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे।

‘बैसाखी’ कथासंग्रहमा समाजका सामान्य मानिसका जीवनभोगाइ, गाउँपरिवेश, नयाँ पुस्ताको मनोविज्ञान र नारी संवेदनाजस्ता विषय समेटिएका छन्। पहिलो कृतिमार्फत जोशीले आफूले देखेभोगेको सामाजिक परिवेश र त्यससँग जोडिएका पात्रका कथा साहित्यका माध्यमबाट पाठकमाझ ल्याउने प्रयास गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *