`

कोशीमा भाषा विधेयक पारित हुनु मातृभाषा, पहिचान र समुदायको जित : कांग्रेस सचेतक लावती

Nepal One HD २४ असोज २०८३ २२:०४
नेपाली कांग्रेस

काठमाडौं । कोशी प्रदेश सभाबाट सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित भएपछि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी सचेतक मैया श्रेष्ठ लावतीले खुसी व्यक्त गरेकी छन्।

उनले विधेयक पारित हुनुलाई मातृभाषा, पहिचान र समुदायको आत्मसम्मानको जितका रूपमा व्याख्या गरेकी छन्।

लावतीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कोशी प्रदेशमा मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिने व्यवस्था हुनु ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

विधेयकले प्रदेशभित्रका स्थानीय तहलाई पनि बहुसङ्ख्यक जनताले बोल्ने राष्ट्रभाषा स्थानीय कानुन बनाएर सरकारी कामकाजमा प्रयोग गर्न सक्ने व्यवस्था गरेको उनले उल्लेख गरेकी छन्।

‘आफ्नै मातृभाषामा सरकारी सेवा पाउनु कुनै दया वा कृपा होइन, यो प्रत्येक नागरिकको आत्मसम्मान र नैसर्गिक अधिकारको विषय हो,’ उनले लेखेकी छन्।

लावतीले विधेयक प्रदेश सभामा पेस भएदेखि पारित गराउने प्रक्रियासम्म आफूले सक्रिय भूमिका निर्वाह गरेको दाबी गरेकी छन्। नेपाली कांग्रेस विविधताभित्रको एकता र सबै समुदायको पहिचानको पक्षमा उभिँदै आएको उनको भनाइ छ।

‘यो जित कुनै एउटा पार्टी वा व्यक्तिको मात्र होइन, यो त हाम्रा पुर्खाहरूको सपनाको जित हो,’ उनले लेखेकी छन्।

उनले विधेयक पारित भएको अवसरमा सम्पूर्ण भाषाभाषी, जाति र समुदायलाई बधाई तथा शुभकामना पनि दिएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *