बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न देउवाको आग्रह
काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीमा क्षति पुर्याएपछि नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
उनले प्रभावित नागरिकको उद्धार र राहतमा तत्काल जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै देउवाले बाढीका कारण स्थानीय बासिन्दाको जनजीवन र भौतिक संरचनामा परेको असरप्रति सहानुभूति व्यक्त गरेका हुन्।
नदीमा जलस्तर बढिरहेको अवस्थालाई ध्यानमा राख्दै उनले बूढीगण्डकी र त्रिशूली नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
‘विपद्को यो कठिन समयमा बाढी प्रभावित क्षेत्रका जनताको उद्धार र राहतका लागि पार्टीका साथीहरूले तत्कालै सक्रिय भएर सहयोग गर्नुपर्छ,’ देउवाले फेसबुकमा लेखेका छन्।
लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने जोखिम रहेकाले स्थानीय प्रशासनले पनि नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदी तटको नजिक नजान सचेत गराएको छ।
