बूढीगण्डकी बाढीपीडितलाई सहयोग गर्न शशांक कोइरालाको आग्रह
काठमाडौं। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीमा पुर्याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दुःख व्यक्त गरेका छन्।
१५औँ महाधिवेशन आयोजक तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले सामाजिक सञ्जालमार्फत बाढीबाट प्रभावित नागरिकप्रति गहिरो सहानुभूति प्रकट गर्दै उनीहरूको सुरक्षा र सहजताको कामना गरेका हुन्।
उनले बूढीगण्डकी र त्रिशूली नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, सम्भावित जोखिमबाट जोगिन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
कोइरालाले विपद्का बेला उद्धार, राहत र मानवीय सहयोगमा सक्रिय हुन नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई पनि आह्वान गरेका छन्। प्रभावित नागरिकको पीडामा साथ दिनु र आवश्यक सहयोग पुर्याउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले विपद्को घडीमा एकजुट भएर नागरिकको जीवन रक्षा र सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
