महामन्त्रीमा प्रदीप पौडेल पक्का!
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणामले चुनावी प्रतिस्पर्धा थप रोचक बनाएको छ । उपसभापतिको खुलातर्फ चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।
महिला महामन्त्रीमा भने डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’बीचको प्रतिस्पर्धा झिनो मतको अन्तरमा पुगेको छ ।
२ हजार २ सय ३१ मतको गणना सकिँदा उपसभापतिको खुलातर्फ भण्डारीले १ हजार ५७ मत पाएका छन् । मधु आचार्य ७ सय १२ मतसहित दोस्रो र सुरेन्द्रराज पाण्डे ६ सय ८० मतसहित तेस्रो स्थानमा छन् । आचार्य र पाण्डेको मतान्तर ३२ मात्रै छ । गोविन्द भट्टराईले ६ सय ९ मत ल्याएका छन् । अन्य उम्मेदवारमा धनराज गुरुङले ४ सय ६, दीपक गिरीले ३ सय १ र चन्द्रमोहन यादवले १ सय ९३ मत प्राप्त गरेका छन् ।
उपसभापतिको समावेशीतर्फ विनोदकुमार चौधरीले ६ सय १५ मतसहित अग्रता लिएका छन् । जीवन परियार ५ सय ७८ मतका साथ उनलाई पछ्याइरहेका छन् । दुईबीच ३७ मतको दूरी छ । सीता गुरुङले ३ सय ३४, फरमुल्लाह मन्सुरले २ सय ८५ र रञ्जित कर्णले १ सय ८३ मत पाएका छन् ।
महामन्त्रीको खुलातर्फ पौडेलले १ हजार ३ सय ८१ मतसहित बलियो पकड बनाएका छन् । उदयशमशेर राणाले ७ सय ८६ र अमरसिंह पुनले ६ सय ९५ मत प्राप्त गरेका छन् । राणा र पुनबीच ९१ मतको अन्तर छ । पौडेललाई भने राणाले पछ्याउन ५ सय ९५ मतको दूरी घटाउनुपर्ने देखिएको छ ।
महामन्त्रीका अन्य प्रत्याशीमध्ये सुनिलकुमार शर्माले ५ सय २६, गुरुराज घिमिरेले ३ सय २८, नैनसिंह महरले २ सय ७०, शंकर तिवारीले ४६ र सन्तोष उपाध्यायले २८ मत ल्याएका छन् ।
महिला महामन्त्रीको नतिजा भने अन्तिम समयसम्म रोमाञ्चक बन्ने संकेत देखिएको छ । संग्रौलाले ९ सय ६५ मत प्राप्त गर्दा डिनाको पक्षमा ९ सय ५२ मत परेको छ । जम्मा १३ मतको अन्तरले दुई उम्मेदवारबीचको प्रतिस्पर्धा निकै कडा बनेको छ । रिता खनालले २ सय ५१ मत पाएकी छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । बाँकी मतले विशेषगरी महिला महामन्त्री र उपसभापतिको प्रतिस्पर्धामा थप उतारचढाव ल्याउन सक्नेछ ।
