`

…जब अमिताभ बच्चनले फ्यानसँग हात मिलाउन मानेनन्

Nepal One HD २६ असोज २०८३ ११:५९
चलचित्र

काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनको जन्मदिनमा फ्यानसँगको एउटा व्यवहार अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

मुम्बईस्थित उनको निवास ‘जलसा’ बाहिर प्रशंसकलाई भेट्न निस्किएका बच्चनले एक युवतीसँग हात मिलाउन अस्वीकार गरेको भिडियो भाइरल भएपछि उनको पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् ।

आइतबार अक्टोबर ११ मा आफ्नो जन्मदिन मनाएका अमिताभलाई एक झलक हेर्न जुहुस्थित निवासबाहिर फ्यानहरूको ठूलो भीड लागेको थियो । सधैँझैँ घरबाहिर निस्किएर उनले हात जोड्दै प्रशंसकको अभिवादन फर्काएका थिए । मरुन रङको कुर्तामा देखिएका उनको यही भेटघाटको भिडियो अहिले चर्चामा छ ।

भिडियोमा एक बालक अमिताभनजिक जान खोज्दा सुरक्षाकर्मीले रोकेको देखिन्छ । त्यसपछि एक युवतीले उनीसँग हात मिलाउन खोज्छिन्, तर अमिताभले हात मिलाउँदैनन् । यही दृश्यलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच मत बाझिएको छ ।

केहीले अभिनेताको व्यवहारको बचाउ गरेका छन् । उनीहरूका अनुसार फ्यानले भन्दैमा कसैलाई जबर्जस्ती हात मिलाउन बाध्य पार्न मिल्दैन । एक प्रयोगकर्ताले अमिताभलाई चोट लागेको उल्लेख गर्दै यस्तो अवस्थामा जबर्जस्ती हात मिलाउन खोज्नु अनुचित भएको टिप्पणी गरेका छन् । अर्का प्रयोगकर्ताले पनि ‘जबरजस्ती कसले हात मिलाउँछ र?’ भन्दै उनको पक्ष लिएका छन् ।

तर, केहीले भने प्रशंसकसँग हात नमिलाएको भन्दै आलोचना गरेका छन् । कतिपयले अमिताभ र उनकी पत्नी जया बच्चनको व्यवहारलाई जोडेर व्यङ्ग्यात्मक टिप्पणीसमेत गरेका छन् । यद्यपि, भाइरल भिडियोको छोटो दृश्यबाट मात्रै घटनाको सम्पूर्ण सन्दर्भ स्पष्ट हुँदैन ।

अमिताभले करिब चार दशकदेखि हरेक आइतबार आफ्नो घरबाहिर आएर फ्यानलाई अभिवादन गर्ने परम्परा कायम राख्दै आएका छन् । जन्मदिनमा पनि प्रशंसकलाई भेट्ने उनको चलन यसपटक पनि दोहोरिएको थियो ।

सन् १९४२ अक्टोबर ११ मा उत्तर प्रदेशको इलाहावाद, हालको प्रयागराजमा जन्मिएका अमिताभलाई ‘बिग बी’ र ‘शहंशाह’का नामले समेत चिनिन्छ ।

पाँच दशकभन्दा लामो अभिनय यात्रामा उनले थुप्रै चर्चित चलचित्रमा काम गरेका छन् । चलचित्रसँगै टेलिभिजनमा पनि उनको लोकप्रियता कायम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *