`

सडक अवरुद्ध हुँदा मुस्ताङको ७० प्रतिशत स्याउ निकासी हुन सकेन, दुई अर्बको उत्पादन जोखिममा

Nepal One HD २७ असोज २०८३ १३:३२
अर्थ समाचार

काठमाडौ । भारी वर्षा, बाढीपहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा मुस्ताङको स्याउ निकासी प्रभावित भएको छ। यस वर्ष उत्पादन बढे पनि हालसम्म ३० प्रतिशत स्याउ मात्रै जिल्ला बाहिर पठाउन सकिएको छ।

असोज ११ गतेको भारी वर्षापछि अवरुद्ध बनेको सडकका कारण किसान तथा व्यापारीले समयमै स्याउ बजार पुर्‍याउन सकेनन्। सडक सञ्चालनमा आएपछि भने स्याउ टिप्ने र बिक्रीका लागि बजार पठाउने क्रम तीव्र पारिएको छ।

कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार यतिबेलासम्म करिब ७० प्रतिशत स्याउ बजारमा पुगिसक्नुपर्ने थियो। तर, सडक अवरुद्ध हुँदा हालसम्म ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ। मुस्ताङमा उत्पादित स्याउमध्ये करिब १० प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष जिल्लामा १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ। गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो। उत्पादन बढेकाले यस वर्ष स्याउ बिक्रीबाट करिब दुई अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

सडक मर्मतपछि सञ्चालनमा आए पनि बेनी-जोमसोम सडक अझै पूर्ण रूपमा सहज भइसकेको छैन। स्याउ बिक्रीको मुख्य याम घर्किन लागेपछि किसानले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन्।

मुस्ताङको स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बढी खपत हुने गर्छ। तर, यस वर्ष सडक लामो समय अवरुद्ध हुँदा किसान र व्यापारीले समयमा स्याउ बजार पुर्‍याउन सकेनन्। अहिले जिल्लाका पाँचवटै स्थानीय तहमा उत्पादित स्याउ बाहिरी बजारमा पठाउन थालिएको छ।

घरपझोङ गाउँपालिका-५, ढुम्बास्थित चिम्ले अर्चार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार सडक सञ्चालनमा आएको दुई दिनमै छ ट्रक स्याउ काठमाडौं पठाइएको छ। उनका अनुसार हालसम्म करिब ३० प्रतिशत स्याउ मात्रै बजारमा पठाउन सकिएको छ।

जिल्लास्तरीय बोर्डको निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्न सकिने व्यवस्था गरिएको थियो। तर, सडक अवरोधका कारण उत्पादन राम्रो हुँदाहुँदै पनि मुस्ताङका किसानले स्याउको बजारीकरणमा समस्या झेल्नुपरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *