`

पाँच महिनापछि खुल्यो सतिघाटमा फेरी सेवा, भोजपुर-सङ्खुवासभा आवतजावत सहज

Nepal One HD २९ असोज २०८३ १५:५७
समाचार

काठमाडौं । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पाँच महिनापछि फेरी सेवा पुनः सञ्चालनमा आएको छ। दसैँ-तिहारलाई लक्षित गर्दै बुधबारदेखि सेवा सञ्चालनमा ल्याइएपछि भोजपुरको उत्तरी क्षेत्रका स्थानीयवासीलाई नदी वारपार गर्न सहज हुने भएको छ।

बर्सातका कारण गत जेठदेखि बन्द रहेको फेरी सेवा सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतसँगै दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न राहत मिल्ने भएको हो। षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासका अनुसार चाडपर्वका बेला नागरिकको आवागमन सहज बनाउन हलुका सवारीसाधनसमेत वारपार गर्न मिल्ने गरी सेवा सञ्चालन गरिएको हो।

त्यस्तै, सतिघाटमा पक्की पुल नहुँदा भोजपुर र सङ्खुवासभाबीचको यातायात सम्पर्कका लागि स्थानीयवासी फेरी सेवामा निर्भर रहँदै आएका छन्। सेवा बन्द हुँदा यात्रु तथा सवारीसाधनलाई नदी वारपार गर्न समस्या हुने गरेको छ।

फेरी सेवा पुनः सञ्चालनमा आएसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दालाई विशेष राहत पुग्ने अपेक्षा गरिएको छ। यसबाट स्थानीयस्तरमा दैनिक उपभोग्य वस्तुको ढुवानी तथा चाडपर्वका बेला हुने आवागमन सहज हुने विश्वास गरिएको छ।

सतिघाटमा विसं २०७६ देखि फेरी सेवा सञ्चालन हुँदै आएको छ। तर, बर्सातका बेला नदीमा पानीको बहाव बढेसँगै सेवा बन्द गर्नुपर्ने अवस्था दोहोरिँदै आएको छ। यसले स्थानीयवासीलाई हरेक वर्ष सास्ती खेप्न बाध्य बनाउँदै आएको छ।

तत्कालका लागि फेरी सेवा सञ्चालनमा आए पनि सतिघाटमा पक्की पुल निर्माणको आवश्यकता भने कायमै छ। साथै, स्थायी पुल निर्माण हुन सके भोजपुर र सङ्खुवासभाबीच वर्षैभरि सहज यातायात सम्पर्क कायम हुनुका साथै स्थानीयको दैनिक जीवन र आर्थिक गतिविधिमा समेत सुधार आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *