`

इम्युनोस्प्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग

Nepal One HD २९ असोज २०८३ १६:०४
जीवनशैली/स्वास्थ्य

काठमाडौ । औषधि व्यवस्था विभागले इम्युनोस्प्रेसेन्ट वर्गका औषधिको बिक्री-वितरणमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। विभागले हालै जारी गरेको सूचनालाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रम र अन्योल सिर्जना भएपछि बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

विभागका अनुसार विश्व स्वास्थ्य सङ्गठनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न तथा एक औषधिले अर्को औषधिमा पार्न सक्ने असरको जोखिम न्यूनीकरण गर्न वैज्ञानिक जोखिम मूल्याङ्कनका आधारमा नियमनका कदम चालिएको हो।

विभागले तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा आवश्यक मापदण्ड पूरा नगरेका ४७ थरी ब्रान्डका औषधिको नयाँ उत्पादन र आयातमा मात्र रोक लगाइएको जनाएको छ। ती औषधिका प्रमाणपत्रसमेत खारेज गरिएको भए पनि बजारमा यसअघि नै भित्रिएका वा बिक्री-वितरणमा रहेका औषधिको प्रयोग तथा बिक्री-वितरणमा कुनै प्रतिबन्ध नलगाइएको विभागले स्पष्ट पारेको छ।

त्यसैगरी, जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक रहेका उद्योग तथा आयातकर्तालाई बजारमा औषधिको आपूर्ति प्रभावित हुन नदिन बढीमा तीन महिनासम्म उत्पादन वा आयात गर्न विशेष अनुमति दिइएको विभागले जनाएको छ। त्यस्ता औषधिका प्रमाणपत्र नवीकरणसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ।

विभागले नेपाल औषधि उत्पादक सङ्घ, नेपाल औषधि आयातकर्ता सङ्घ र नेपाल औषधि व्यवसायी सङ्घसँग निरन्तर समन्वय गर्दै बजारमा औषधिको सहज उपलब्धता सुनिश्चित गर्ने काम भइरहेको जनाएको छ।

विशेषगरी अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घकालीन रोगबाट प्रभावित बिरामीका लागि इम्युनोस्प्रेसेन्ट औषधि आवश्यक पर्ने भएकाले यसको अभाव हुन नदिन विभाग प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। विभागले बिरामीलाई चिकित्सकको परामर्शअनुसार नियमित रूपमा औषधि सेवन गर्नसमेत आग्रह गरेको छ।

यसैबीच, विभागीय निर्णयविपरीत थप उत्पादन वा आयात गरी कुनै प्रतिकूल असर उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी औषधि प्रदान गर्ने वा प्रयोग गराउने निकाय तथा व्यक्तिले नै लिनुपर्ने चेतावनी विभागले दिएको छ।

विभागको स्पष्टीकरणसँगै इम्युनोस्प्रेसेन्ट औषधिको बिक्री-वितरण पूर्ण रूपमा बन्द गरिएको भन्ने भ्रम चिर्न खोजिएको छ। विभागले नियमनको दायरा नयाँ उत्पादन र आयातमा केन्द्रित रहेको जनाउँदै बजारमा उपलब्ध औषधिको प्रयोग तथा बिक्री-वितरणमा रोक नरहेको दोहोर्‍याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *