`

कांग्रेसको मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा फिरदोस आलम निर्वाचित

Nepal One HD २९ असोज २०८३ १६:०६
राजनीति

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मुस्लिम क्लस्टरतर्फ सहमहामन्त्री पदमा डा. फिरदोस आलम निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार फिरदोसले ३ हजार ३४७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ र अतहर कमाल मुसलमानले ५५७ मत प्राप्त गरे।

फिरदोस कांग्रेसका पुराना नेता मोहम्मद अफताब आलमका जेठा छोरा हुन्। उनका पिता अफताबको उपचारका क्रममा २१ कात्तिक २०८२ मा ६३ वर्षको उमेरमा निधन भएको थियो।

फिरदोस गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट-२ बाट निर्वाचित भएका थिए। उनले २९ हजार ५२८ मत प्राप्त गरेका थिए। मधेश प्रदेशबाट कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित हुने उनी एकमात्र सांसद बनेका थिए।

पारिवारिक विरासतबाट पार्टी नेतृत्वसम्म

पिताको राजनीतिक विरासतलाई अघि बढाउँदै फिरदोस कांग्रेसको केन्द्रीय नेतृत्वमा पुगेका छन्। उनका पिता अफताब आलमको नाम चर्चित बमकाण्ड र त्यससँग सम्बन्धित कानुनी प्रक्रियाका कारण विवादमा जोडिएको थियो।

कांग्रेसका पूर्वसांसद देवप्रसाद तिमल्सिनाका अनुसार रौतहट-२ का जनताबाट प्राप्त समर्थनले फिरदोसलाई राष्ट्रिय राजनीतिमा स्थापित हुन सहयोग गरेको छ। कांग्रेसका जिल्ला नेताहरूले उनलाई शालीन नेताका रूपमा हेर्ने गरेका छन्।

प्रतिनिधिसभा सदस्यसँगै पार्टीको सहमहामन्त्री बनेका फिरदोसको आगामी राजनीतिक भूमिका र पार्टी संगठनमा उनको सक्रियता चासोको विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *