दुई महिनामा नेपाल भित्रियो ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह २३ दशमलव ९ प्रतिशतले बढेको हो।
चालु आवको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। जबकि गत आर्थिक वर्षको भदौ महिनामा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव ५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो दुई महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ थियो।
यसैगरी, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ। पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५१ हजार १३६ पुगेको छ।
साथै, गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको थियो।
