`

डेढ महिनामै चार भाले हात्तीको मृत्यु, प्रजनन संकटको जोखिम

Nepal One HD ३० असोज २०८३ ११:४१
समाचार

काठमाडौं । नेपालमा डेढ महिनाको अवधिमा चार वटा जंगली भाले हात्तीको मृत्यु भएको छ। असोज महिनामा मात्रै तीन वटा भाले हात्ती मरेका छन्। हात्ती मारिने क्रम नरोकिए भविष्यमा प्रजननमा गम्भीर संकट आउन सक्ने संरक्षणकर्मीहरूले चेतावनी दिएका छन्।

२०८३ असोज ३ गते चितवन राष्ट्रिय निकुञ्जको चर्चित हात्ती ‘रोनाल्डो’ करेन्ट लागेर मरेको थियो। वरण्डाभार क्षेत्रमा पर्ने बीसहजारी नजिकै नेपाली सेनाको पोस्टमा लगाइएको विद्युतीय तार चपाउँदा रोनाल्डोको मृत्यु भएको थियो।

रोनाल्डोको मृत्यु भएको १५ दिनपछि, असोज १८ गते सर्लाहीको बागमती नगरपालिका–४ स्थित ब्रह्मबाबा सामुदायिक वन नजिकै अर्को जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको थियो। त्यसको नौ दिनपछि उदयपुरको बेलका नगरपालिकामा ‘सानो दारे’ नामले चिनिने वयस्क जंगली भाले हात्ती पनि मृत फेला परेको थियो।

यसअघि भदौ ३१ गते झापाको मेचीनगर नगरपालिका–३, तेलपानीस्थित जंगलमा अर्को जंगली भाले हात्ती मृत भेटिएको थियो। यसरी चालु वर्षमा मात्रै चार वटा जंगली भाले हात्तीको मृत्यु भएको छ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार गत वर्ष नौ वटा जंगली भाले हात्ती मारिएका थिए। पछिल्लो १५ वर्षमा मानवीय कारणले ५८ वटा हात्तीको मृत्यु भएको उनको भनाइ छ।

डा. रामका अनुसार भाले हात्तीले धेरै पोथी हात्तीसँग प्रजनन गर्न सक्ने भएकाले वंश विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्छन्। जंगली भाले हात्तीको सङ्ख्या घट्दै गए प्रजनन क्षमता र आनुवंशिक विविधतामा समेत असर पर्न सक्छ।

जंगली हात्तीले खेतीबालीमा क्षति पुर्‍याउँदा किसानले पाउने राहत अपर्याप्त हुनु र राहत वितरणमा ढिलाइ हुनुले मानव–हात्ती द्वन्द्व बढाउन सक्ने संरक्षणकर्मीहरूको भनाइ छ।

डा. रामका अनुसार क्षतिको समयमै मूल्याङ्कन गरी किसानलाई उचित राहत उपलब्ध गराउन सके विद्युतीय धरापजस्ता घातक उपाय अपनाउने प्रवृत्ति घटाउन सकिन्छ। किसानको क्षति कम गर्ने र हात्तीको संरक्षण गर्ने उपाय सँगसँगै अघि बढाउनुपर्ने उनको सुझाव छ।

यसैबीच, झापामा अर्को एउटा जंगली हात्ती गम्भीर घाइते अवस्थामा रहेको छ। निकुञ्ज विभागका वरिष्ठ अनुसन्धान अधिकृत डा. गणेश पन्तका अनुसार उक्त हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक तथा चिकित्सकको टोली पठाइएको छ।

संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार नेपालमा करिब दुई सयको हाराहारीमा हात्ती रहेका छन्। बर्सेनि ११ देखि १२ वटासम्म हात्ती मारिने क्रम जारी रहे भविष्यमा तिनको अस्तित्व संकटमा पर्न सक्ने उनको चिन्ता छ।

तराईका क्षेत्रमा बढ्दो मानवीय गतिविधि र पूर्वाधार निर्माणका कारण हात्तीका परम्परागत जैविक मार्ग प्रभावित हुँदै गएका छन्। मार्गमा अवरोध हुँदा हात्ती र मानिसबीच द्वन्द्व बढ्ने गरेको विज्ञहरू बताउँछन्।

खानाको खोजीमा धान पाक्न लागेको खेतमा पस्ने क्रममा हात्ती विद्युतीय धराप र विषादीको जोखिममा पर्ने गरेका छन्। संरक्षणकर्मीहरूका अनुसार यस्ता उपायबाट मारिने हात्तीमध्ये अधिकांश जंगली भाले हात्ती हुने गरेका छन्।

हात्ती मारिने क्रम नरोकिए भविष्यमा प्रजनन र संरक्षण दुवै चुनौतीपूर्ण बन्न सक्ने विज्ञहरूको चेतावनी छ। त्यसैले जैविक मार्गको संरक्षण, किसानलाई उचित राहत, विद्युतीय धराप नियन्त्रण र जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *