फिफा अध्यक्ष इन्फान्टिनोमाथि दबाब, कागजात सार्वजनिक नगरे पदका लागि अयोग्य हुने चेतावनी
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले संस्थाको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई दिने प्रस्तावको प्रक्रियामा गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्। तर, इङ्ल्यान्ड फुटबल संघकी अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले सम्बन्धित कागजात सार्वजनिक गरी प्रश्नहरूको जवाफ नदिए इन्फान्टिनो अध्यक्ष पदका लागि योग्य नहुने चेतावनी दिएकी छन्।
बिहीबार स्विट्जरल्यान्डको ज्युरिखमा बसेको फिफा काउन्सिलको बैठकमा इन्फान्टिनोले ‘फिफा फर्वार्ड इन्टरप्राइज’ (एफएफई) योजनाबारे छलफल र परामर्श गर्ने प्रक्रियामा गल्ती भएको स्वीकार गरेका हुन्। सार्वजनिक भएको केही दिनमै उक्त योजना फिर्ता लिइएको थियो।
योजनाअन्तर्गत फिफाको व्यावसायिक अधिकारको केही हिस्सा निजी लगानी कम्पनीलाई दिने प्रस्ताव गरिएको थियो। इन्फान्टिनोले भने यो अन्तिम निर्णय नभई सदस्य राष्ट्रका फुटबल संघमा थप लगानी जुटाउने सम्भावना खोज्ने उद्देश्यले ल्याइएको प्रस्ताव मात्र भएको बताएका छन्।
बैठकपछि जारी भिडियो वक्तव्यमा उनले सञ्चार र परामर्श प्रक्रियामा भएका कमजोरीका कारण विभिन्न समस्या उत्पन्न भएको भन्दै माफी मागे। बैठकमा उठेका प्रश्नको लिखित जवाफ उचित समयमा दिने पनि उनले बताएका छन्।
तर, हेविटले एफएफई योजनासम्बन्धी कागजात र आफूहरूले उठाएका प्रश्नको जवाफ नपाएको बताएकी छन्। कागजात सार्वजनिक नगर्नुको कारणसमेत इन्फान्टिनोले स्पष्ट पार्न नसकेको उनको भनाइ छ।
‘उहाँले ती प्रश्नको जवाफ दिनैपर्छ। यदि अहिले जवाफ दिनुहुन्न भने उहाँ फिफा अध्यक्ष बन्न योग्य हुनुहुन्न,’ हेविटले बैठकपछि भनिन्।
उनले एफएफई योजना, अमेरिकी खेलाडी फोलारिन बालोगुनको रातो कार्डपछि निलम्बन स्थगित गरिएको घटना र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरिएको फिफा शान्ति पुरस्कारबारे पनि स्पष्ट जवाफ आवश्यक रहेको बताइन्। यी विषयमा प्राप्त हुने जवाफले इन्फान्टिनोको नेतृत्वप्रतिको आफ्नो धारणा निर्धारण गर्ने उनको भनाइ छ।
युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि एफएफई योजनालाई लिएर इन्फान्टिनोको आलोचना गर्दै आएको छ। बीबीसीका अनुसार यूईएफएले योजनासम्बन्धी सबै कागजात सार्वजनिक गर्न माग गर्दै अमेरिकाका तीन अदालतमा दाबी पेस गरेको छ। उसले इन्फान्टिनोविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारीसमेत गरेको छ।
हेविटका अनुसार कागजात सार्वजनिक भएपछि मात्रै यस प्रकरणमा थप कानुनी कारबाही आवश्यक छ वा छैन भन्नेबारे स्पष्ट धारणा बनाउन सकिनेछ। उनले इन्फान्टिनोप्रति आफ्नो धारणा परिवर्तन नभएको पनि बताएकी छन्।
इन्फान्टिनो आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। उनी सन् २०१९ र २०२३ मा निर्विरोध निर्वाचित भएका थिए।
हालसम्म उनलाई चुनौती दिन सक्ने बलियो उम्मेदवार देखिएका छैनन्। स्विट्जरल्यान्डका पूर्वखेलाडी रामोन भेगाले उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्। तर, उम्मेदवारीका लागि आवश्यक पाँच सदस्य संघको समर्थन जुटाउन उनलाई कठिन हुन सक्ने आकलन गरिएको छ।
बीबीसीका अनुसार युरोपेली फुटबलका केही वरिष्ठ अधिकारीहरूले आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरलाई उम्मेदवार बनाउन चाहेका छन्। यद्यपि, इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा गर्न वेंगरले फिफाको विश्वव्यापी फुटबल विकास प्रमुखको पद छाड्ने वा नछाड्ने स्पष्ट भएको छैन।
फिफा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दर्ताको अन्तिम मिति नोभेम्बर १८ तोकिएको छ। हेविटले सदस्य संघहरूले फरक योजना र दृष्टिकोण भएका उम्मेदवारमध्ये छनोट गर्न पाउनुपर्ने बताएकी छन्।
फिफा काउन्सिलको बैठकमा अमेरिकी खेलाडी फोलारिन बालोगुनको रातो कार्डपछि निलम्बन स्थगित गरिएको विषय पनि उठेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले निर्णय पुनरावलोकन गर्न आग्रह गरेपछि बालोगुनमाथिको प्रतिबन्ध स्थगित गरिएको थियो।
बीबीसीका अनुसार भविष्यमा रातो कार्ड पाएपछि स्वतः लाग्ने एक खेलको प्रतिबन्ध स्थगित गर्न नपाइने व्यवस्था गर्ने प्रस्ताव फिफा काउन्सिलमा प्रस्तुत गरिएको थियो। फिफाको कानुनी समितिले यस विषयको समीक्षा गरी डिसेम्बरमा काउन्सिललाई जानकारी दिनेछ।
त्यस्तै, ट्रम्पलाई प्रदान गरिएको फिफा शान्ति पुरस्कारबारे पनि समीक्षा हुने भएको छ। फिफाको सामाजिक समितिले पुरस्कार दिने निर्णय कसरी र कसले गरेको थियो भन्ने विषयमा अध्ययन गर्नेछ। साथै, पुरस्कारको व्यवस्था कायम राख्ने, सुधार गर्ने वा हटाउने भन्नेबारे समीक्षा गरी डिसेम्बरमा प्रतिवेदन बुझाउनेछ।
