रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न आवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनमा नगरपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ ।
पार्टीले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य बन्न चाहने आकांक्षीलाई लक्षित गर्दै ‘नगरपालिका क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको हो ।
बिहीबार सार्वजनिक सूचनामार्फत रास्वपाले स्थानीय तहको नेतृत्व लिन इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको छ । पार्टीका अनुसार इच्छुकले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन् ।
रास्वपाले यसअघि भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबका लागि आवेदन खुला गरेको थियो । नगरपालिकाका आकांक्षीका लागि पनि आवेदन प्रक्रिया अघि बढाएसँगै पार्टीले स्थानीय तहका उम्मेदवार छनोटको तयारीलाई विस्तार गरेको छ ।
रास्वपाबाट उम्मेदवार बन्न चाहनेले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै छनोट प्रक्रिया अघि बढ्नेछ ।
