नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको तयारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन्।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका हुन्। उनको सन्देश प्रहरी महानिरीक्षक कार्कीले कार्यक्रममा वाचन गरेका थिए।
प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा थप सक्षम बनाउने सरकारको योजना रहेको बताएका छन्।
‘नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ। प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बौद्धिकता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको छ,’ सन्देशमा भनिएको छ।
प्रधानमन्त्री शाहले आन्तरिक शान्ति र सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्नुपर्नेमा उनले जोड दिएका छन्।
त्यस्तै, प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने मित्रराष्ट्र तथा विकास साझेदारहरूप्रति पनि प्रधानमन्त्री शाहले आभार व्यक्त गरेका छन्।
